धनगढी, २४ मंसिर/बझाङमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका १ बिली बस्ने २५ वर्षीय राम कुमार भण्डारीको करेन्ट लागेर मृत्यु भएको हो । शनिवार बिहान चौडाम बगर धामीराटी कुलोमा पानी फर्काउने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको वडाध्यक्ष वीरबहादुर भण्डारीले जानकारी दिनुभएको छ । वडाध्यक्ष भण्डारीका अनुसार उनी शनिवार बिहान १० गहुँ खेतमा पानी लगाउन घरबाट निस्किएका थिए ।
पानी लगाउन गएका भण्डारी अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्नेक्रममा चौडमा बगरको कान्द्वाल भीरमा साँझ मृतक फेला परेका हुन् । कुलोमा पानी फर्काउने क्रममा विद्युतको तारा नजिकै हुँदा करेन्ट लगेर उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
भण्डारी मृत फेला परे लगत्तै वडाध्यक्ष भण्डारीले जिल्ला प्रहरी कार्यालयमा जानकारी गराउनुभएको थियोे , भने जानकारी पाउने वितिकै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दिपेश चौधरीको कमाण्डमा ९ जनाको टोली घटना स्थल पुगेर घटनाबारे अनुसन्धान गरेका थियो । अहिले मृत भण्डारीको शब जिल्ला अस्पतालको शव गृहमा राखिएको छ ।