डडेल्धुरा १३ मंसिर/नेपाली काँग्रेसका सभापती एवं पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाको गाउँ जोड्ने भातकाडा–बडाल–रेल सडकको काम तिब्र पार्न सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले सम्बन्धित कार्यलय प्रमुख र निर्माण कम्पनिका प्रतिनिधिलाई निर्देशन दिएका छन ।
ट्र्याक खोलिएको उक्त सडकम मर्मत र कालोपत्रे हुन सकेन भनि बारम्बार प्रश्न उठ्ने गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा भातकाडा बजार देखि चार किलोमिटर सडक कालोपत्रेका लागि साढे नौ करोड रकम बराबरको ठेक्का सम्झौता भएको थियो । तर हाल सम्मपनि सडक कालोपत्रेका लागि कटिंग समेत हुन सकेको छैन ।
बारम्बार स्थानीयले गुनासो गर्ने यस सडक खण्डको काम तिब्र पार्न मन्त्री देउवाले सडक डिभिजन कार्यालय डोटीलाई निर्देशन दिदै दैनिक प्रगती विवरण पठाउन प्रहरीलाई समेत ताकेता गरेका छन । यही गतिमा काम भए २०८४ सम्म पनि पुरा नहुने भन्दै उनले तत्काल काम सञ्चालन गर्न निर्माण कम्पनी र कार्यालयलाई निर्देशन दिए ।
सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख ईञ्जिनियर दिपक झाका अनुसार आर्थिक वर्ष २०७०/०८० उक्त चार किलोमिटर देखि अगाडी साढे छ किलोमिटर सम्मको सडक खण्ड कालोपत्रेका लागि सात करोड ३४ लाख रकम बराबरको ठेक्का भएको छ ।
उक्त दुरी भन्दा अगाडी साढे छ किमि देखि साढे आठ किमि सडक खण्ड कालोपत्रेका लागि साढे पाँच करोड रकम बराबर आर्थिक वर्ष २०८०/०८१ मा ठेक्का सम्झौता भई काम भईरहेको छ । सडक डिभिजन कार्यालयका पछिल्ला दुई वर्षका ठेक्का भन्दा पहिलो वर्ष २०७८ मा ठेक्का सम्झौता भएको काम सकिनु पर्ने समय सम्मा सुरुवात मात्रै भएको भन्दै मन्त्री देउवाले सडक डिभिजन र निर्माण कम्पनीलाई काम तिब्र गतिमा अघि बढाउन निर्देशन दिए ।
पुख्र्यौली घर रहेको रुवाखोलाको मटेला गाउँको अनुगमन गर्दै मन्त्री देउवाले खानेपानी, सिचाई र बाटोघाटो निर्माणका लागि आवश्यक योजना विनियोजन गर्न जलस्रोत तथा सिचाई, खानेपानी तथा सरसफाई डिभिजन र भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुखहरु लाई निर्देशन दिए । गाउँपालिका उपाध्यक्ष र वडा अध्यक्षहरु लाई उनले विकास निर्माका काममा निगरानि बढाई ताकेता गर्न सुझाव दिए ।
यस सडक खण्डको साढे आठ किलो मिटर भन्दा अगाडी खण्डमा करिब ९० लाख रुपियाँ लागत अनुमान भएको एउटा ठेक्का भौतिक पूर्वाधार विकास कार्यालयबाट लगाई काम सम्पन्न हुने चरणमा रहेको भौतिक पूर्वाधार विकास कार्यालय डडेल्धुराका प्रमुख नवराज रावलले जानकारी दिए ।