काठमाडौं । संघीय संसदको संसदीय समितिले दुई पटकसम्म सबै नेपाली भूभाग समेटेर नक्सा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि सो काम भने अझै हुन सकेको छैन । संसदीय समितिले लिम्पियाधुरालाई समावेश गरेर नेपालको नक्सा तत्काल सार्वजनिक गर्न गएको शुक्रबार पछिल्लो पटक निर्देशन दिएको हो । यसअघि पनि संसदीय समितिले यसैगरी निर्देशन दिएकोमा शुक्रबारको निर्देशन दोस्रो हो ।
यस विषयमा नापी विभागले भने माथिबाट निर्देशन नआएको बताउँदै आएको छ । बाह्रखरीसँगको कुराकानीमा नापी विभागका महानिर्देशक प्रकाश जोशीले भने,‘‘हामीलाई माथिबाट निर्देशन आएको छैन । यसबारेमा मन्त्रीले नै बोलिसक्नु भएको छ । त्यसैले हामीले काम अघि बढाउँछौं ।’’
यसअघि संसदकै राज्य व्यवस्था समितिले पनि सरकारलाई आफ्नो भूभाग समेटेर नक्सा सार्वजनिक गर्न निर्देशन दिएको थियो । शुक्रबार गृहमन्त्री रामबहादुर थापा र भूमि व्यवस्थामन्त्री पद्मा अर्यालसँग छलफलपछि समितिले पछिल्लो निर्देशन दिएको हो । पछिल्लो बैठकले सरकारलाई निर्देशन दिँदै भनेको छ, ‘‘लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा अविलम्ब जारी गर्ने ।’’
त्यस्तै, समितिले सो समस्या समाधान गर्न राजनीतिक, कूटनीतिक तहमा अविलम्ब वार्ता गर्न पनि निर्देशन दिएको छ । संसदीय समितिले पटक–पटक निर्देशन दिँदा पनि सरकार नतात्नुलाई सम्बद्धहरुले आश्चर्यजनक रुपमा लिएका छन् ।