धनगढी, २३ साउन/भीमदत्त राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका – ४ बुढितोलामा खसेको पहिरो हटाउने काम रोकिएको छ । लगातारको बर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले सडक खुलाउने काम रोकिएको हो ।
सोमबार राती आएको पहिरो हटाउने काम मंगलबार दिनभरी जारी रहे पनि सडक भने सूचारु हुन नसकेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक नेत्र मणि गिरीले पुनः पानी पर्न थालेपछि मंगलबार साँझ देखि सडक खुलाउने काम रोकिएको बताए ।
उनले बुढीतोलामा करिब ३ सय मिटर सडकमा क्षति पुगेकाले खुलाउन समय लाग्ने बताए । उनले सडक अवरुद्ध भएपछि रोकिएका यात्रु भने प्लटि भएर गन्तव्यमा गइसकेको बताए । पानी रोकिएपछि बुधबार सडक खुलाउने काम सुरु गरिने जनाइएको छ ।