धनगढी, १८ साउन/यातायात व्यवस्था कार्यालय सेतीले साउन १८ गते देखि सम्पूर्ण सेवाहरु सुचारु गर्ने भएको छ । हिजो साउन १७गते देखि एक सूचना प्रकाशित गरी यातायात व्यवस्था कार्यालयले साउन १८ गते देखि सम्पूर्ण सेवाहरु सुचारु गर्ने जनाएको हो । यातायात व्यवस्था कार्यालय सेतीका प्रमुख नरेन्द्र शाहले साउन १८ गते देखि सम्पूर्ण सेवाहरु पूर्ववत प्रदान गरिने जानकारी दिए ।
अधिकांश कर्मचारीहरु बिभिन्न बहाना गरी अनुपस्थित हुन थालेपछि यातायात व्यवस्था कार्यालयले साउन १५ गते सवारी साधनको दर्ता र नामसारी अनिश्चिलकालका लागि बन्द गर्ने सूचना टाँस गरेको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी अनुमती पत्र वितरणमा अनियमितता गरेको आरोपमा यातायात व्यवस्था कार्यालयका तत्कालिन प्रमुख लक्ष्मण शाह लगायतका कर्मचारीहरुमाथि मुद्दा चलाएपछि अधिकांश कर्मचारीहरु बिभिन्न बहानामा कार्यालयमा अनुपस्थित हुदै आएका छन् ।
१४ जनाको दरबन्दी रहेको यातायात कार्यालयमा आधाभन्दा बढि कर्मचारी अनुपस्थित हुदै आएका थिए । अधिकांश कर्मचारीले अन्यत्र सरुवा माग गरेका छन् । केही दिन ८ जना कर्मचारी कार्यालय नआउदा यातायात कार्यालयले सवारी साधन दर्ता र नामसारीको काम अनिश्चितलकालका लागि बन्द गर्ने निर्णय गरेको थियो ।
यातायात कार्यालयका प्रमुख शाह सहितका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई भेटेर काम गर्ने वातावरण नभएको भन्दै वातावरण बनाउन आग्रह गरेका थिए । यातायात कार्यालयमा दरबन्दी भएर कार्यालयमा नआउने र अन्यत्र सरुवा माग्ने कर्मचारीलाई प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको थियो ।
यातायात कार्यालयका प्रमुख शाहले साउन १८ गते देखि अधिकांश कर्मचारीहरु हाजिर हुने र कार्यालयले सम्पूर्ण सेवाहरु पूर्ववत प्रदान गर्ने बताए । यद्दपि तीन जना कर्मचारी भने अझै बिदामा रहेको शाहले बताए ।