३३४ सांसदमध्ये पाँच महिनामा २७ मात्रै छिरे पुस्तकालय
सांसदलाई अध्ययनका लागि संघीय संसद्ले आफ्नै पुस्तकालय व्यवस्थापन गरेको छ । राजनीति, साहित्य, इतिहास, कूटनीति, कानुनलगायत विषयका ४० हजार पुस्तक संसद्को सिंहदरबारस्थित पुस्तकालयमा छन् । ००८ देखिका दस्ताबेज र भर्खरै बजारमा आएका पुस्तक पनि त्यहाँ छन् । तर, सांसदहरू पुस्तकालय नै जाँदैनन् । संसद् सचिवालयको अभिलेखअनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका ३३४ सांसदमध्ये पछिल्लो पाँच महिनामा २७ सांसद मात्रै पुस्तकालय छिरेका छन् ।
संघीय संसद् प्रारम्भ भएको डेढ वर्ष पुगिसकेको छ । तर, शीर्ष नेता भने संसद्को पुस्तकालयमा एकपटक पनि पुगेका छैनन् । पटकपटक पुस्तकालय जाने र अध्ययन गर्नेमा पूर्वमन्त्रीद्वय अग्नि सापकोटा र दीनानाथ शर्मा मात्रै छन् । त्यसबाहेक कुनै पनि राजनीतिक दलका शीर्ष नेता पुस्तकालय गएको रेकर्ड सचिवालयमा छैन ।
४० हजार पुस्तक भएको लाइब्रेरीबाट सांसदहरूले कति पुस्तक पढ्न लगेका छन् भन्ने तथ्यांकसमेत छैन । तर, डेढ सयजति पुस्तक मात्रै पढ्न लगेको मोटामोटी तथ्यांक छ । २७५ सदस्यीय प्रतिनिधिसभाका १० र ५९ सदस्यीय राष्ट्रिय सभाका १७ सांसद मात्रै पुस्तकालय पुगेको रेकर्ड छ । ‘कुन सांसदले कति पुस्तक र कुन–कुन लानुभयो भन्ने विवरण उतार्न समय लाग्छ । सबै कुरा बताएर पनि हुन्न,’ पुस्तकालय प्रमुख कमलादेवी शर्माले भनिन् । संसद्को पुस्तकालयमा बसेर पढ्ने ठाउँसमेत पर्याप्त छैन । उपयुक्त पुस्तक अभाव र पुस्तकालयमा बस्ने ठाउँको अभावका कारण नगएको सांसदहरू बताउँछन् ।
राष्ट्रिय सभाका सांसद बढी जान्छन् पुस्तकालय
माथिल्लो सदनका सांसद तुलनात्मक रूपमा बढी अध्ययनशील देखिएका छन् । पुस्तकालयमा गत पाँच महिनाको अवधिमा पुग्ने २७ सांसदमध्ये १७ जना राष्ट्रिय सभाकै छन् । ५९ सदस्यीय राष्ट्रिय सभाका अधिकांश सांसद पटकपटक पुस्तकालय पुग्दा प्रतिनिधिसभाका १० जना मात्रै सांसद पुस्तकालय पुगेका छन् ।
पुस्तकालय बढी जाने सांसद
संघीय संसद्का केही सांसद मात्रै दोहो¥याएर पुस्तकालय पुग्ने गरेका छन् । माघदेखि हालसम्म पटकपटक गइरहने सांसदमा अग्नि सापकोटा, कमला रोका, ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवर, राजेन्द्रप्रसाद गौतम र उदया शर्मा छन् । पूर्वमन्त्री सापकोटा पछिल्लो पाँच महिनामा १२ पटक पुस्तकालय पुगे । माघमा तीन, फागुनमा चार, चैतमा तीन तथा वैशाख र जेठमा एक–एकपटक उनी त्यहाँ गएका छन् ।
सचिवालय भन्छ– पुस्तकालय सुधारलाई बजेट नै छैन
संघीय संसद् सचिवालय पुस्तकालय सुधारका लागि बजेट नभएको बताउँछ । पुस्तकालयका लागि चालू आर्थिक वर्षमा छुट्याइएको आठ लाखमध्ये ६ लाख खर्च भइसकेको र दुई लाख रुपैयाँ बाँकी रहेको सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए । ‘पुस्तकालय व्यवस्थित भएन भन्ने गुनासो आएको छ । हामीले पनि व्यवस्थित बनाउन खोजिरहेका छौँ । तर, सरकारले आवश्यक बजेट दिएकै छैन,’ प्रवक्ता पाण्डेले भने । संघीय संसद्मा संसदीय अध्ययन तथा अनुसन्धान महाशाखा छ । पुस्तकालय भुइँतलामा सार्दा ठाउँ सानो भएको महाशाखा प्रमुख घनिन्द्रराज चिमोरियाले बताए । ‘संसद्को आफ्नै भवन बनाउने योजना सरकारले बनाएको सुनिएको छ । त्यसो हुन सके पुस्तकालय व्यवस्थित हुन्छ,’ उनले भने, ‘अहिले पनि उपलब्ध ठाउँमा हामीले व्यवस्थित बनाउने प्रयास गरेकै छौँ ।’
कुहिँदै पुस्तक
०५६ अघिसम्म संसद्को पुस्तकालय हाल सचिवालय रहेको भवन नम्बर एकमा थियो । त्यसपछि भने भवन नम्बर दुईको एउटा तलामा पूरै पुस्तकालय राखियो । त्यो तलामा अहिले राष्ट्रिय सभाको सचिवालय तथा अन्य पदाधिकारीको कार्यकक्ष बनाउने भन्दै पुस्तकालयलाई भुइँतलामा सारिएको छ । सचिवालय स्रोतका अनुसार हाल भुइँतलामा पुस्तक असरल्ल छरिएका छन्, कतिपय कुनामा फालिएका छन् । धेरै पुस्तकमा ढुसी लागिसकेको छ, नष्ट हुने जोखिम छ । पुस्तकालय लथालिंग बनेको छ । त्यहाँ पुग्ने सांसदहरू बसेर पढ्ने ठाउँ नभएको गुनासो गर्छन् ।
पुस्तकालय कर्मचारी भन्छन्– खोजेको पुस्तक नपाउँदा सांसद रिसाउँछन्
आवश्यक पुस्तक नपाए सांसदहरू रिसाउने गरेको कर्मचारी बताउँछन् । ‘माननीयज्यूहरू आउनुहुन्छ, सबै पुस्तक उपलब्ध त छैन । उहाँहरूले भनेको पुस्तक पाउनुभएन भने हामीसँग झनक्क रिसाउनुहुन्छ,’ पुस्तकालय शाखाका एक कर्मचारीले दुःखेसो गरे ।
सांसदले पुस्तक लगेर फिर्ता गरेनन्, पुस्तकालय प्रमुखले ढाटिन्
पहिलो संविधानसभादेखि पछिल्लो रूपान्तरित व्यवस्थापिका संसद्सम्मका सांसदहरूले संसद्को पुस्तकालयबाट दुई सयभन्दा बढी पुस्तक लगेर फिर्ता नगरेको संसद् सचिवालय स्रोतले जनाएको छ । तर, पुस्तकालय प्रमुख कमलादेवी शर्माले भने सबै पुस्तक फिर्ता भएको दाबी गरिन् । ‘हामीले ०७४ सम्मका सबै पुस्तक क्लियर गरिसकेका छौँ । विगतमा माननीयज्यूहरूले लगेका पुस्तक सबै फिर्ता भइसकेका छन् । लगेर पुस्तक फिर्ता नगरेकाहरूबाट पनि फिर्ता गरिसकेका छौँ,’ उनले भनिन् । तर, संसद्कै समितिले भने सांसदहरूले लगेर फिर्ता नगरेका पुस्तक किन्न आवश्यक निर्देशन दिने जनाएको छ ।
पुस्तकालयको जिम्मेवारी सम्हालिरहेकी शर्माले ००८ देखिकै राजपत्र रहेको बताइन् । तर, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले अनुगमन गर्दा ०१६ अघिको राजपत्र फेला पार्न सकेको छैन ।
पुस्तकालयमा बढी जाने सांसद
पछिल्लो पाँच महिनामा सबैभन्दा बढी पुस्तकालय पुग्ने
- सिंगबहादुर विश्वकर्मा : ३९ पटक
- उदया शर्मा पौड्याल : ३४ पटक
- शेरबहादुर कुँवर : ३१ पटक
- ठगेन्द्र प्रकाश पुरी : ३० पटक
- मिना बुढा : २७ पटक
पछिल्लो पाँच महिनामा एकपटक मात्रै पुस्तकालय पुग्ने सांसद
- दिनानाथ शर्मा
- बद्री पाण्डे
- कालीबहादुर मल्ल
- कविता बोगटी
- अञ्जना विशुन्खे
यी हुन् पुस्तकालय पुग्ने रष्ट्रियसभाका १७ सांसद
- दिनानाथ शर्मा
- बद्री पाण्डे
- शेरबहादुर कुँवर
- काली बहादुर मल्ल
- प्रकाश पन्थ
- रामलखन हरिजन
- ठगेन्द्रप्रकाश पुरी
- मिना बुढा
- उदया शर्मा
- हरिचरण सिवाकोटी
- नन्दा चपाईँ
- सिंगबहादुुर विश्वकर्मा
- नरपति सुनार
- युटोल तामाङ
- चक्रप्रसाद स्नेही
- खिमकुमार विश्वकर्मा
- कविता बोगटी
यी हुन् पुस्तकालय पुग्ने प्रतिनिधिसभाका १० सांसद
- अग्नि सापकोटा
- राजेन्द्र प्रसाद गौतम
- पार्वती कुमारी विशुन्के
- कमला रोका
- गणेश पहाडी
- पुष्पा कुमारी कर्ण कायस्त
- चाँदतारा कुमारी
- अञ्जना विशंखे
- निरादेवी जैरु
- नमिता चौधरी
के भन्छन् सांसद्
शान्त स्थान भएन : कमला रोका, नेकपा सांसद
पुस्तकालय जान मन त लाग्छ । तर, अध्ययन गर्ने ठाउँ नै शान्त छैन । कर्मचारीको हल्ला, साँघुरो ठाउँका कारण राम्रोसँग अध्ययन गर्न मिल्ने ठाउँ नै छैन । तैपनि पत्रपत्रिका पढ्न म गइरहेकै हुन्छु ।
समयमा पत्रिका पनि आउँदैन : ठगेन्द्रप्रकाश पुरी, नेकपा सांसद
लाइब्रेरी भुइँतलामा छ । पुस्तक सुरक्षित हुन्नन् । लाइब्रेरी सारेर होला चाहेको पुस्तक तत्काल भेट्टाउनै मुस्किल छ । सांसदहरू बिहान संसदीय समितिमा आउनुहुन्छ । लाइब्रेरीमा गयो भने पत्रिका नै आइसकेको हुन्न । १० बजेसम्मसमेत पत्रिका पुग्दैन । संसद्को कामको प्रकृतिलाई हेरेर पत्रिका अलिक चाँडै पु¥याउन पाए हुन्थ्यो । बिहान बन्द हुन्छ । शान्त ठाउँसमेत छैन ।
पुस्तक लगेका कतिपय सांसदले फिर्ता गरेका छैनन् : रामनारायण बिडारी,
सभापति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति (राष्ट्रिय सभा)
हामीले समितिका तर्फबाट पुस्तकालयको अनुगमन गरेका थियौँ । संविधानसभा तथा व्यवस्थापिका संसद् हुँदा सांसदहरूले लगेका कतिपय पुस्तक फिर्ता नभएको पाइएको छ । खोजेको पुस्तक नपाउने, तर एउटै पुस्तक ५० थानसम्म किन्ने प्रवृत्ति पनि पाइएको छ । अबको बजेटबाट पुस्तक के–कति किन्ने भन्नेबारे हामी सचिवालयलाई निर्देशन दिन्छौँ । समिति अहिले पनि पुस्तकालय सुधारमा लगातार लागिरहेको छ । पुस्तकालयमा ००८ सालदेखिका राजपत्र पाइँदैनन् । त्यसको खोजी गर्ने र पुस्तकालयमा ल्याउने काम समितिले गरिरहेको छ । सचिवालयलाई आवश्यक निर्देशन दिइनेछ ।
पढ्न जानेजस्तो नै छैन पुस्तकालय : गगन थापा, कांग्रेस सांसद
संसद्को लाइब्रेरी हामीले खोजेजस्तो, चाहिएजस्तो बनाउने विषयमा एकपटक महासचिवसँग पनि कुरा गरेका थियौँ । पुस्तकालय बाहिरी सहयोगविनै बनाउनुपर्छ । संसद्को लाइब्रेरी यस्तो होस् जहाँ रिसर्च गर्ने टिम होस्, विधेयकमा कुनै प्रस्ताव वा विचार राख्दा हामीले राख्ने प्रस्ताव संविधान वा कानुनअनुरूप छ कि छैन, बाहिरी अभ्यास के छ भनेर बुझ्न सकिने र सुझाउने टिम होस् । त्यस्तो टिम भए सांसदलाई सहयोग पुग्थ्यो, सांसदको प्रस्तुति पनि राम्रो हुन्थ्यो । तथ्य–तथ्यांकसहित बोल्न पाइन्थ्यो । तर, त्यस्तो छैन । मैले संसद्को लाइब्रेरी गएर विभिन्न विधेयकमाथि बोल्ने विषय के पाउँछु ? त्यही भएर म यो लाइब्रेरी असाध्यै कम प्रयोग गर्छु ।
व्यवस्थित नै छैन : देव गुरुङ, प्रमुख सचेतक, नेकपा
अध्ययन–अनुसन्धान गर्नुपर्दा पुस्तकालय जाने हो । तर, संसद्को पुस्तकालयमा पर्याप्त र खोजेजस्तो पुस्तक पाइँदैन भन्ने सांसदहरूको गुनासो सुनिन्छ । ठाउँ सानो छ, त्यो पनि व्यवस्थित छैन । सरकारले छुट्टै भवन दियो भने व्यवस्थापन गर्दा राम्रो हुन्थ्यो । अब संसद्को आफ्नै भवन बनाउने कुरा सरकारले गरेको छ । त्यसपछि व्यवस्थित बनाउनुपर्छ ।
पढ्ने वातावरण नै छैन : अग्नि सापकोटा, नेकपा सांसद
संसद्को लाइब्रेरीमा अध्ययन, खोज गर्नलायक पुस्तक भेटिन्नन् । तैपनि पत्रपत्रिका र समसामयिक विषय अध्ययन गर्न म प्रायजसो पुग्छु । पुस्तकालयको ठाउँ नै उपयुक्त भएन । कर्मचारी नजिकै हो–हल्ला गरिरहेका हुन्छन् । फोनको घन्टी बजिरहेको हुन्छ । बस्ने ठाउँ साँघुरो छ । त्यस्तो साँघुरो ठाउँ र हो–हल्लाबीच अध्ययन गर्न गाह्रो छ । संसद्को पुस्तकालयलाई आमूल परिवर्तन गर्न जरुरी छ ।
नयाँ पत्रिकाबाट