धनगढी, १३ असार/कैलालीस्थित धनगढीको मुख्य बजारमा बन्ने सडकको शिलान्यास गरिएको छ। कैलाली पुलदेखि हुलाकी सडकको जिरो प्वाइन्टसम्मको सडक स्तरोन्नतिको शिलान्यास गरिएको हो।
मंगलबार सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाले सो आयोजनाको शिलान्यास गरे।। धनगढीको मुख्य बजारको यो सडक सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा पूर्वाधार विकास कार्यालय कैलालीमार्फत बनाउने गरी गत वैशाख २७ गते ठेक्का भएको थियो। केएस कन्स्ट्रक्सन प्रालि, धनगढीले निर्माणको ठेक्का पाएको छ।
मूल्य अभिवृद्धि करसहित ५१ करोड ६८ लाख ७८ हजार रुपयाँ लागतमा बन्ने सडकको निर्माण कार्य २०८२ वैशाख २६ गतेभित्र गरिसक्नुपर्ने जनाइएको छ। निर्माण व्यवसायीले तोकिएको समयभित्रै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएकाले समयमै काम सकिनेमा विश्वस्त रहेको मन्त्री देउवाले बताए।
दुई किलोमिटर तीन सय मिटर लामो बन्ने सडकका लागि गत तिहारपछि धनगढीमा सडक अधिकार क्षेत्रमा परेका संरचना भत्काइएको थियो। यो सडक बनाउनका लागि कुल चार सय २८ घर भत्केको जनाउँदै धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले आउने असार मसान्तभित्रै सडक तयार हुनेमा आशावादी रहेको बताए।
सडक स्तरोन्नतिका लागि घर भत्काउने घरधनीहरूलाई धनगढी उपमहानगरपालिकाले सम्मान गरेको छ। सडक स्तरोन्नति आयोजना शिलान्यास कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, मन्त्रालयका सचिवलगायतको उपस्थिति रहेको थियो।