धनगढी, ११ जेठ/तातो हावापानी रहेको कैलालीमा लटरम्म स्याउ फलेको छ । कैलालीको लम्कीचुहा नगरपालिका –९ प्रतापपुर एकलघरुवामा कृषक गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । ।
उनले तीन बिघा जग्गामा व्यावसायिक स्याउ खेती गरेका छन् । चिसो हावापानी भएको हिमाली क्षेत्रमा स्याउ खेती हुँदै आए पनि गर्मी हुने कैलालीमा ओलीले पहिलो पटक व्यावसायिक स्याउ खेती गरेका छन् । तराईमा स्याउ फल्ने भएपछि यहाँका कृषक उत्साहित भएका छन् ।उनको बगैचामा स्याउको बोटमा अहिले लटरम्म स्याउ फलेका छन् । “फलेको स्याउ ठुलठुलै भइसक्यो” उनले भने , “मैले परीक्षणका लागि २० बुटामा मात्रै स्याउ फल्न दिएँ । व्यावसायिक उत्पादन पछि हुन्छ ।”
उहाँले गत वर्ष माघ महिनामा स्याउको बिरुवा रोप्नु भएको थियो । बिरुवा रोपेको डेढ वर्ष पुग्दैछ । यो स्याउको बोटको दुई वर्ष पुगेपछि मात्रै फल लाग्न दिनु राम्रो रहेको कृषक ओलीको भनाइ छ । “२० बुटामा फल लाग्न दिएँ” उनले भने, “अरू सबैको फूल टिपेर फालेको छु । अब अर्को वर्षबाट सबैमा फल लाग्न दिन्छु ।”
भैरहवा र झापातिर व्यक्तिले ४०–५० बुटा स्याउको खेती गरे पनि तराईमा ठुलो क्षेत्रफलमा स्याउको व्यावसायिक खेती गर्ने ओली सम्भवतः पहिलो किसान हुन् । प्रदेश सरकारको सहयोगमा उनले स्याउ खेती गरेका हुन् ।जुन, यो प्रदेशको लागि एकदमै नौलो मानिएको छ । हालसम्म ७५ लाख रुपियाँ लागत लागेकोमा प्रादेशिक कृषि निर्देशनालयबाट साढे १० लाख र कृषि ज्ञान केन्द्रबाट साढे चार लाख गरी प्रदेश सरकारबाट १५ लाख रुपियाँ अनुदान पाएको ओलीको भनाइ छ ।
एचआरएमएन (हर्मन) –९९ जातको स्याउको बोट भारतबाट ल्याएर उनले खेती गर्नुभएको छ । यो जातको स्याउ खेती ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा पनि हुनेगरेको कृषक ओलीले बताए । “भारतको उत्तर प्रदेश, हरियाणा, पन्जाबलगायत धेरै ठाउँमा स्याउखेती हुँदैआएको छ” उनले भने, “मैले हिमाचल प्रदेशको विशालपुर जिल्लाबाट बिरुवा ल्याएर खेती गरेको हुँ ।”ओलीले एक हजार दुई सय बुटा स्याउ रोप्नु भएको छ । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उहाँले बताए । “यदि यो सफल भयो भने तराईका अरू किसान स्याउ खेतीमा आकर्षित हुनेछन” उनले भने, “मैले पनि खेती विस्तार गर्छु ।”
पहिले कञ्चनपुरको भीमदत्त नगरपालिका –४ मा बस्दै आउनुभएका ओली स्याउ खेती गर्नकै लागि अब कैलालीको प्रतापपुरमा बस्न सुरु गरेका हुन् । उनले आफ्नै जमिनमा यो खेती गर्नुभएको छ ।प्रतापपुरमा पहिलो पटक स्याउको बगैँचा स्थापना भएको कृषि ज्ञान केन्द्र कैलालीले जानकारी दिएको छ । “यो हाम्रो लागि पनि नयाँ कार्यक्रम हो” कृषि ज्ञान केन्द्रका सूचना अधिकारीसमेत रहनु भएका कृषि प्रसार अधिकृत जनकराज बोहराले बताए ।
सुदूरपश्चिम प्रादेशिक कृषि निर्देशनालयका प्रमुख यज्ञराज जोशीले जोखिम मोलेर तराईमा स्याउ खेती गर्दा त्यो सफल भएको प्रतिक्रिया दिए । “तराईमा स्याउ फल्छ कि फल्दैन भन्ने चिन्ताबीच कृषकले जोखिम उठाए” उनले भने, “त्यही जोखिमको प्रतिफल हो, तराईमा स्याउ उत्पादन ।” भारतबाट बर्सेनि करोडौँको स्याउ भित्रिने गरेको भन्दै जोशीले तराईमा धेरै जग्गा भएका अरू किसानले पनि स्याउ खेतीतर्फ आकर्षित भएमा कृषकले राम्रो आर्थिक लाभ लिन सक्ने उनको भनाइ छ ।
गोरखापत्रबाट
