काठमाडौं/ भारतमा जारी रहेको १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफ समिकरण पूरा भएको छ ।सोमबार मुम्बई इन्डियन्सले प्लेअफमा स्थान बनाएसँगै प्लेअफमा स्थान बनाउने चार टोलीको टुंगो लागेको हो ।
लिग चरणमा पहिलो स्थान पाएको गुजरात टाईटन्स तथा दोस्रो स्थानमा रहेको चेन्नाई सुपर किंग्सले प्लेअपमा आफ्नो स्थान बनाएका छन् ।तेस्रो स्थानमा रहेको लखनउ सुपर जायन्टस् तथा चौथो स्थानमा रहेको मुम्बई इन्डियन्सले प्लेअफ यात्रामा आफ्नो स्थान बनाएका छन् ।
प्लेअपमा पहिलो क्वालिफायर,ईलिमिनेटर,दोस्रो क्वालिफायर खेल हुनेछ । पहिलो क्वालिफायरमा मंगलबार लिगको पहिलो र दोस्रो स्थानमा रहन सफल गुजरात टाईटन्स र चेन्नाई सुपर किंग्सबीच खेल हुनेछ ।पहिलो क्वालिफायरको विजेताले फाइनलमा स्थान पक्का गर्नेछ । पराजित टोलीले फाइनलमा प्रवेशको अर्को मौका पाउने छ । ईलिमिनेटरको विजेता टोलीसँग पहिलो क्वालिफायरमा पराजित टोलीले खेल्नेछ ।
ईलिमिनेटर खेलमा भने लिगको तेस्रो स्थानमा रहेको लखनउ र मुम्बईको बीचमा खेल हुनेछ । ईलिमिनेटर खेल बुधबार रहेको छ । ईलिमिनेटर खेलको विजेताले शुक्रबार हुने दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित टोलीसँग खेल्नेछ । यस ईलिमिनेटर खेलको पराजित टोली भने प्रतियोगिताबाट बाहिरिने छ ।
दोस्रो क्वालिफायरमा विजयी हुने टोलीले फाइनलमा स्थान बनाउने छ । पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरको विजेताले आगामी आइतबार फाइनलका लागि प्रतिस्पर्धा गर्नेछन् । फाइनलमा विजेता बन्ने टोली यस १६ औं संस्करणको आइपीएलको च्याम्पियन टोली बन्नेछ ।