धनगढी, ५ जेठ/कैलालीको धनगढी उपमहानगरपालिका –३ कालिका नगरमा प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया सुरु भएको छ । धनगढी उपमहानगरपालिकाको समन्वयमा नगर विकास कोषले बसपार्क निर्माणको प्रक्रिया अगाडि बढाएको हो । सो स्थानमा बसपार्क निर्माणका लागि सर्भेसमेत गरिएको छ ।
बसपार्कको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि सर्भेको काम भएको वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए । “बगरको रूपमा रहेको ऐलानी जग्गामा बसपार्क निर्माणको प्रस्ताव गरिएको थियो”, वडा अध्यक्ष ऐरले भने,“प्रस्तावित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेको छ ।”
अध्यक्ष ऐरका अनुसार १६ हेक्टर क्षेत्रफलमा बसपार्क प्रस्ताव गरिएको छ । सो जग्गाको भोगाधिकार प्राप्तिका लागि फाइल पनि अगाडि बढाइएको छ । राष्ट्रिय वन क्षेत्रको नाङ्गो जग्गा रहेका कारणले त्यसको भोगाधिकार आवश्यक परेको जनाइएको छ । सोही स्थानमा वडा प्रहरी कार्यालय निर्माणको प्रस्ताव पनि गरिएको छ । यसैगरी, अर्कोतिर खेलमैदानका लागि पनि जग्गा छुट्टाइएको छ । खेलमैदानमा तारजालीका लागि प्रतिनिधि सभा सदस्य डिल्लीराज पन्तले १० लाख रुपियाँ बराबरको कार्यक्रम पनि बनाइ रहनुभएको जनाइएको छ ।