काठमाडौं/सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबार हिमालयन शेर्पा क्लब र संकटाले १(१ को बराबरी खेलेका छन् । दशरथ रंगशालामा हिमालयन शेर्पाले सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन सकेन । खेलको दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । यस बराबरीले शेर्पा २२ अंकसाथ नवौं स्थानमा पुग्दा संकटा २१ अंकसाथ ११ औं स्थानमा छ ।
३९ औं मिनेटमा खामिर ग्लिसन कन्दंग्वाले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्ट नजिकबाट बाहिरियो । लगत्तै अर्कोतर्फ युसुफ अत्रिसले गोल गरेपनि त्यसले मान्यता पाएन । अत्रिसले प्रहार गर्दा आयुष घलानले ६ यार्ड बक्सभित्र अफसाइड पोजिसनमा रहेर गोलरक्षक किशोर गिरीलाई छेक्दा सहायक रेफ्रीले अफसाइडको निर्णय दिए ।५० औं मिनेटमा शेर्पाले अग्रता लियो । विश्वास श्रेष्ठको क्रसमा अबायोमी फाकुन्लेको हेडरलाई फार पोस्टमा म्यानुएल नानाले गोलको दिशा दिए ।
७२ औं मिनेटमा संकटाले पेनाल्टीको अवसर पायो । ६ यार्ड बक्स नजिक सुशील राईले आयुष घलानलाई लडाएपछि रेफ्री विश्वास कार्कीले पेनाल्टी दिए । उक्त पेनाल्टीमा आयुषले गोल गर्दै संकटालाई बराबरीमा ल्याए । ७७ औं मिनेटमा विश्वास श्रेष्ठको प्रहार क्रसबारमा लागेर बाहिरिँदा शेर्पाले अग्रता लिन सकेन । यस्तै एन्फा कम्पलेक्समा सम्पन्न अर्को खेलमा मच्छिन्द्र फुटबल क्लबले खुमलटारलाई ३(० ले हरायो ।
