धनगढी, १७ बैशाख/कैलालीमा खेलकुद पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको चुरे गाउँपालिकास्थित खानीडाँडामा दुई दिने खेलकुद पत्रकारिता तालिम सुरु भएको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजना र आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमको सहकार्यमा तालिम सुरु भएको हो ।
एक कार्यक्रमका बिच तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव विश्वदिप बेस्राले पछिल्लो समय पत्रकारिता क्षेत्रको विस्तार भइरहेको बताए । विगतमा केही सीमित विधामा मात्रै पत्रकारिता गर्ने प्रचलन रहेको बताउँदै उनले पछिल्लो समय भने सबै क्षेत्रमा कलम चलाउन थालिएको प्रति खुसी व्यक्त गरे । दुई दिने तालिमले खेलकुद पत्रकारिता झनै गतिशील हुने उनको विश्वास थियो ।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पछिल्लो समय कैलालीमा खेलकुद पत्रकारितामा निकै सक्रियता देखिएको भन्दै खुसी व्यक्त गरे । नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नवीन लुइटेलले सबै क्षेत्रको पत्रकारिता गर्नका लागि ज्ञान आवश्यक रहेको बताउँदै दुई दिन प्रशिक्षण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले सुदूरपश्चिम खेलकुद क्षेत्रका लागि निकै धनी क्षेत्र रहेको बताउँदै खेलकुदका गतिविधि उठान गर्नका लागि पत्रकारलाई पनि विज्ञता चाहिएको बताए ।
खेल पत्रकारितामा निखारता ल्याउनका लागि नै अघिल्लो वर्षदेखि प्रशिक्षण दिन थालिएको उनको भनाई थियो । वरिष्ठ एथलेटिक्स तथा त्रिभुवन विश्वविद्यालयका खेल तथा विज्ञानका प्राध्यापक सुशील नरसिंह राणा, नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय सदस्य नवीन लुइँटेल, टेलिभिजन खेल पत्रकार अनन्त वाग्ले र खेल पत्रकार यज्ञराज जोशीले दुई दिनसम्म प्रशिक्षण दिने कार्यक्रम रहेको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले जानकारी दिए । प्रशिक्षणमा कैलालीका ४० बढी पत्रकारको सहभागिता रहेको वरिष्ठ उपाध्यक्ष शङ्कर बोहराले बताएका छन् ।
