महेन्द्रनगर १० बैशाख/कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुईमा एक महिलामाथि आक्रमण गर्ने बाघलाई नियन्त्रणमा लिएर शनिबार काठमाडौं पठाइएको छ ।
उक्त बाघलाई शनिबार बिहान डाट गरेर नियन्त्रणमा लिइएको थियो । बाघलाई पिजरामा राखेर गाडीमा काठमाडौंस्थित चिडियाखाना पठाइएको हो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसँगै भेटेरीनरी डाक्टरको टोलीले बाघलाई काठमाडौं पुर्याउने राष्ट्रिय प्रकृति संरक्षण कोषको शुक्लाफाँटा संरक्षण कार्यक्रमका प्रमुख लक्ष्मीराज जोशीले बताए ।
पचुईस्थित खप्टी नालामा घाँस काटिरहेकी महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार बिहान बाघले महिलामाथि आक्रमण गरेको थियो । शनिबार बाघ नियन्त्रणमा लिएपछि महिलाको शव भेटिएको थियो ।