धनगढी/सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्ना प्रक्रियाको विरोध गर्ने डिल्लीराज भट्टलाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको छ । अस्पताल व्यवस्थापन समितिका सदस्य रहेका भट्टलाई नेकपा माओवादी केन्द्र धनगढी नगर कमिटीको पदाधिकारी बैठकले साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको हो ।
नगर अध्यक्ष सुरज खातीको अध्यक्षतामा मंगलबार बसेको पदाधिकारी बैठकले पार्टीको विधि र नीति विपरीत काम गरेको भन्दै साधारण सदस्य समेत नरहने गरी गरी निष्कासन गरेको हो । नगर कमिटी सचिव रमेश भट्टराईले पार्टीको अनुशासन विपरीत काम गरेका कारण भट्टलाई कारवाही गरिएको बताए ।सेती प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी भर्नामा अनियमितता भइरहेको भन्दै भट्टले प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा।हेमराज पाण्डेलाई विधि सम्मत रुपमा काम गर्न ध्यानाकर्षण गराएका थिए । सोही विषयलाई लिएर माओवादी केन्द्रको धनगढी नगर कमिटिका अध्यक्ष सुरज खातीले २८ चैतमा भट्टलाई स्पष्टीकरण सोधेका थिए ।
‘तपाईलाई पार्टीको तर्फबाट सेती प्रादेशिक अस्पताल व्यवस्थापन समिति सदस्यको जिम्मेवारी दिइएको, उक्त अस्पतालमा पार्टीको तर्फबाट व्यवस्थापन समितिको अध्यक्ष हुँदा तपाईले संस्था र पार्टीको हित विपरीत कार्य गरेका पाइएकाले दुई दिन आफ्नो लिखित जवाफ पेश गर्नका लागि यो पत्र पठाइएको छ,’ अध्यक्ष खातीले सोधेको स्पष्टिकरण पत्रमा भनिएको थियो । भट्टले दुईभित्र जवाफ पेश गरेको भएपनि चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो ।
भट्ट माओवादी केन्द्रको धनगढी नगर सचिवालय सदस्य, प्रचारप्रसार विभाग प्रमुख र वडा नम्बर ४ को इन्चार्जको जिम्मेवारीमा थिए । प्रादेशिक अस्पताल व्यवस्थापन समितिका सदस्य भट्टले पार्टीले गरेको कारवाहीका सम्बन्धमा आन्तरिक विषय भएको बताए । उनले पार्टी कमिटी र नेतृत्वसँग कारवाहीको विषयमा आफूले छलफल गरिरहेको बताउदै अस्पताल व्यवस्थापन समितिको सदस्यको हैसियतमा व्यक्तिगत स्वार्थपूर्ति गर्न ऐन, कानून विपरीत काम गर्न नसक्ने बताएका छन् । प्रादेशिक अस्पतालले नवौं तहका चिकित्सकसहित विभिन्न तहका कर्मचारी पदपूर्ति गर्न थालेको प्रक्रिया विवादित बनेको थियो ।