धनगढी/ सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले ट्रकलगायत ठुला सवारीसाधनहरुमा जडान गरिएका प्रेसर हर्न र मोडिफाई गरिएका मोटरसाइकलको साइलेन्सर निकाल्न सुरु गरेको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक दीपेन्द्रकुमार पालका अनुसार ध्वनि प्रदुषण नियन्त्रण गर्नका लागि प्रेसर हर्न र मोडिफाई गरिएका मोटरसाइकलका साइलेन्सर निकाल्न सुरु गरिएको हो। अहिलेसम्म ५ सय ७७ वटा ठुला सवारी साधनको प्रेसर हर्न निकालेर चालकलाई सम्झाई बुझाई छाडिएको उनले बताए।
यस्तै स्वरुप परिवर्तन गरिएका १ सय २३ वटा मोटरसाइकलको पनि साइलेन्सर निकालिएको छ। साइलेन्सरमा प्वाल पारेर चलाउदा ध्वनि प्रदुषण हुने गरेको छ। प्रदेश प्रहरी कार्यालय र मातहतका वडा एरियाहरुले अभियानकै रुपमा यस्तो कार्यक्रम सञ्चालन गरिएको डिएसपी पालले बताएका हुन्।