दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आशन्न उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्यनिस्ट पार्टी (नेकपा) पराजित भए जनतालाई लुटतन्त्रबाट मुक्ति मिल्ने बताएका छन् ।
दाङको श्रीगाँउमा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले आशन्न उपनिर्वाचनको जित(हारले सरकार बनाउने र ढाल्ने नभए पनि कांग्रेसले जिते सरकारको चेत खुल्ने बताए ।
“मैले भनिसके यो चेतावनी हुन्छ, यसले सरकार बदलिने, बनाउने होइन । तर, कम्युनिस्ट हारे भने लुटतन्त्र र त्रासबाट मुक्ति मिल्छ,” उनले भने । सभापति देउवाले कांग्रेसले जितेमात्रै दाङमा विकास हुने पनि दाबी गरे । उनले कांग्रेसलाई जिताए अझै रोजगार सिर्जना हुने जिकिर गरे ।
“हाम्रो पार्टीले जितमात्रै दाङको विकास हुन्छ । नेपाली कांग्रेसलाई भोट हाल्नुस् । अझै रोजगार सिर्जना हुन्छ,” देउवाले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता नभएको दोहो¥याए । सभापति देउवाले सत्तारुढ नेकपाले जनजाति, आदिवासीको नाममा भोटको राजनीतिक गरिरहेको पनि आरोप लगाए ।
“ओली राष्ट्रवादी हुँदै होइनन् । राष्ट्रवादको नाममा जनताबाट भोट लिए । जनजातिको नाममा भोट लिए,” उनले भने, “तर उनीहरुलाई कुनै अधिकार नै दिएको छैन ।” सभापति देउवाले आदिवासी, जनजाति, सिमान्तकृत, महिला मुस्लिम सबैलाई अधिकार दिएर कांग्रेसलाई सबैको पार्टी बनाएको जिकिर गरे ।
“महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेका छौं । सहमहामन्त्री आरक्षणलाई दिएका छौं,” उनले भने, “पार्टीले सबैलाई अधिकार दिनुपर्छ भनेर सहमहामन्त्री आरक्षणअन्तरगत राखिएको हो । यो सानो पद होइन । हाम्रो पार्टीले सबैलाई समेटेको छ । खै अरु कुन पार्टीले दिएका छन् ?”
कांग्रेसले महिलालाई अधिकार दिनका लागि संविधान निर्माणका क्रममा राष्ट्रपति र उृपराष्ट्रपति तथा सभामुख र उपसभामुखमध्ये एक पदमा महिला हुनै पर्ने बाध्यकारी कानुन निर्माण गरेको सभापति देउवाले स्मरण गरे ।