बाजुरा मङ्सिर/ २१; बाजुराको गौमुल गाउँपालिकाले दुर्गम गाउँमा चिकित्सक सेवा सञ्चालन गरेको छ । गाउँमै चिकित्सक सहित स्वास्थ्यकर्मी पुगेर उपचार शुरु गरेको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताए ।
रोगका कारण अस्पतालसम्म पुग्न नसकेका र वर्षौदेखि उपचारबाट बञ्चित भएका नागरिकलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्यसहित चिकित्सक सहितको टोली गाउँमै पुगेको उनले बताए । गौमुल गाउँपालिका धेरै गाउँ भौगोलिक बिकटताले निकै टाढा रहेका छन् ।
गाउँमै एकिकृत शिविर सञ्चालन गरि विभिन्न स्वास्थ्य सेवा दिन थालिएको गौमुल गाउँपालिका स्वास्थ्य संयोजक हरिशचन्द विकले बताए । उनले गाउँपालिकाको समन्वय र स्वास्थ्य शाखाको आयोजनामा गाउँ गाउँमा पुगेर एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको बताए । घट्मुना आधारभूत स्वास्थ्य केन्द्रका डाक्टर रामानुज हाथीसहितको स्वास्थ्यकर्मीको टोली गाउँ–गाउँमा पुगेर स्वास्थ्य परिक्षण गरिएको छ। स्वास्थ्य परिक्षणसँगै उपचार गर्ने गरिएको छ ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा समय–समयमा गाउँपालिकामा यस खालका शिविर सञ्चालन गरिदै आएको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए । प्रत्येक महिना दुर्गम गाउँमा चिकित्सकसहितको टोली पठाएर सेवा दिइने गरिएको रोकायाले बताए । गाउँमै चिकित्सक पुगेर सेवा दिइन थालिएपछि स्थानीय निकै खुशी भएका छन् ।
