धनगढी मंसिर/ १७, उपाधिका लागि बलियो दाबेदार मानिएको ब्राजिल कतार विश्वकपमा समूह चरणको अन्तिम खेलमा क्यामरुनसँग १–० ले पराजित भएको छ । क्यामरुनको जितमा भिसेन्ट बुबकरले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो ।
क्यामरुनका कप्तान बुबकरले इन्जुरी समयमा गोल गरेका थिए । यस विश्वकपमा ब्राजिलविरुद्ध गोल गर्ने बुबकर पहिलो खेलाडी बनेका छन् । साथै गोल गर्ने बित्तिकै बुबकरले मैदान छाड्नु परेको थियो । २००६ मा फ्रान्सका जिनेदिन जिदानपछि बुबकर गोल गर्ने वित्तिकै रातो कार्डको सामना गरेको मैदान छाड्ने पहिलो खेलाडी बनेका छन् ।
बुबकरले जर्सी खोलेर खुसी मनाएपछि रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्डको दर्शन गराएका थिए । जितका बाबजुद क्यामरुन समूह चरणबाटै बाहिरिएको छ । समूह ‘जी’को अर्को खेलमा स्विट्जरल्यान्डले सर्वियामाथि ३–२ को रोमाञ्चक जित निकालेपछि क्यामरुनको यात्रामा पूर्णविराम लागेको हो ।
ब्राजिल समूह विजेता बन्दा स्विट्जरल्यान्ड उप विजेता बन्दै अन्तिम–१६ मा स्थान बनाउन सफल भएको छ । ब्राजिलले अब अन्तिम–१६ मा समूह ‘एच’को उपविजेता दक्षिण कोरियाविरुद्ध खेल्नेछ । उपविजेता स्विट्जरल्यान्डले समूह ‘एच’को विजेता पोर्चुगलविरुद्ध खेल्नेछ ।
गएराति नै सम्पन्न खेलमा दक्षिण कोरियाले पोर्चुगललाई २–१ ले पराजित गर्दै अन्तिम–१६ मा स्थान पक्का गरेको थियो । उक्त समूहमा उरुग्वेले घानालाई २–० ले पराजित गरे पनि लिग चरणमा विपक्षीविरुद्ध कम गोल गरेको आधारमा विश्वकपबाट बाहिरिएको हो ।
एक खेल अगावै अन्तिम–१६ मा स्थान पक्का गरेको ब्राजिलले क्यामरुनविरुद्ध अघिल्लो खेलको टिममा ९ खेलाडी परिवर्तन गरेको थियो । स्विट्जरल्यान्डविरुद्ध खेलेको टिमका मिलिटाओ र फ्रेडमात्र थिए । प्रशिक्षक टिटेले ड्यानियल आल्भेसलाई पनि पहिलो रोजाईमा राखेका थिए । ३९ वर्ष २१० दिन उमेरका आल्भेस ब्राजिलबाट विश्वकप खेल्ने सबैभन्दा पाका खेलाडी बनेका छन् ।
रंगशालामा ब्राजिलका समर्थकले महान खेलाडी पेलेको स्वास्थ्य लाभको कामना गर्दै ब्यानर प्रदर्शन गरेका थिए । श्वासप्रश्वासमा समस्या भएपछि पेलेलाई अस्पताल भर्ना गरिएको छ ।