बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या एउटा घाईते फेला
धनगढी,१४ मंसिर / बैतडीमा एक किशोरीको घाँटी रेटी हत्या गरिएको छ । प्रहरीका अनुसार जिल्लाको पञ्चेश्वर गाउँपालिका ४ सैलोडाकी २१ बर्षीया माया लुहारको हत्या गरिएको हो ।
सोही ठाउँकी १५ बर्षीया नेहा लुहार घाइते अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । मंगलबार बिहान १० बजे घरबाट पञ्चेश्वर गाउँपालिका ३ कुलाउमा लुगा सिलाउन गएका दुवै जना घर नफर्केपछि खोजी गर्दै जाँदा बुधबार माया मृत अवस्थामा फेला परेकी हुन् । उनि संगै गएकी नेहा घाइते अवस्थामा फेला परेकी प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार शिवनाथ गाउँपालका ६ शिवनाथ मन्दिर नजिकै टेलिफोन टावरको छेउमा मायाको शव फेला परेको हो । यस्तै खाजी कार्य गर्दा नेहा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा भन्ने स्थानमा घाइते अवस्थामा फेला परेकी हुन् ।
मायाको धारिलो हतियारले घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । नेहाको पनि घाँटीमा रेटि घाईते अवस्थामा फेला पेकी थिईन् । घटनाको अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय बैतडिले जनाएको छ ।