डोटी,३ मंसिर । आइतबार (मंसिर–४)हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
जिल्लाका एक सय ७७ स्थायी र एक अस्थायी गरि १७८ वटै मतदान केन्द्रमा कर्मचारीहरु र निर्वाचन सामग्री पुगिसकेको कार्यालयले जनाएको छ । ‘१ गते नै सबै मतदान केन्द्रमा कर्मचारीहरुको टोली पुगिसकेको छ,’ मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश शिवलाल पाण्डेयले भने, ‘उहाँहरुले निर्वाचनसंग सम्वन्धित कार्यहरु सुरु गरिसक्नु भएको छ ।’ आज मतदान केन्द्र निर्माणको कार्य अन्तिम चरणमा पुगेको उनले बताए ।
मतदान केन्द्र निर्माण गर्दा अपाङ्गता भएका व्यक्तिहरुलाई सहज हुने, मतदाताहरुलाई विश्रामगर्न मिल्ने गरि निर्माण गर्न मतदान अधिकृतहरुलाई निर्देशन दिईएको मुख्य निर्वाचन अधिकृत पाण्डेयले बताए ।
डोटी जिल्लामा एक सय १५ मतदान स्थलहरुमा १७७ मतदान केन्द्र रहेका छन् । कारागारका कैदीबन्दी र सरकारी कर्मचारीहरुले मतदान गर्न पाउने गरि कारागार कार्यालयमा अस्थायी मतदान केन्द्र राखिएको छ । अस्थायी मतदान केन्द्रमा करिब तीन सय अस्थायी मतदाता रहेको मुख्य निर्वाचन अधिकृत पाण्डेय वताउँछन् ।
उनले नेपाली सेना, सशस्त्र प्रहरी र दिपायल क्षेत्रमा रहेका सरकारी कर्मचारीका लागि दिपायल राजपुरमा रहेको सु–जङ्ग मतदान केन्द्र मतदान गर्ने व्यवस्था मिलाइएको वताए । यस्तै, तालिम केन्द्रमा रहेका प्रहरी कर्मचारीहरुका लागि दिल्पेश्वर मतदान केन्द्रमा व्यवस्था गरिएको समेत पाण्डेयले बताए ।
निर्वाचनका लागि तीनवटै सुरक्षा निकायका गरि २४७२ सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । ‘नेपाल प्रहरीबाट १५१८, नेपाली सेनाबाट ७४० र सशस्त्र प्रहरी बलबाट २१४ सुरक्षाकर्मी परिचालन भएका छन्,’ प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भनिन्, ‘तत्काल प्रतिकार्य समूह पनि तयारी अवस्थामा रहेका छन् ।’ उनले मोबाइल सुरक्षा टोलीहरू पनि परिचालन भइरहेका बताइन् ।
निर्वाचनको लागि कडा सुरक्षा प्रबन्ध मिलाइएकोले मतदाताहरुले ढुक्क भएर मतदान गर्न श्रेष्ठले आग्रह गरिन् । उनले भनिन्, ‘हामीले सुरक्षा अवस्थाको नियमित रुपमा अनुगमन गरिरहेका छौं, जिल्लाका बिभिन्न स्थानमा स्थलगत अनुगमन भएको छ, सुरक्षा अवस्था राम्रो छ ।’
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले मतादन स्थलका लागि तीन तहको सुरक्षा घेरा बनाइएको बताइन् । पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेश्रो घेरामा नेपाली सेनालाई राखिएको उनले जानकारी दिइन् ।
डोटी जिल्लामा ६५ हजार ७३५ महिला र ५९ हजार १३५ पुरुष गरि एक लाख २४ हजार आठ सय ७० मतदाता रहेका छन् ।