कञ्चनपुर, ३० कात्तिक । कञ्चनपुर निर्वाचन क्षेत्र ३ को (क) प्रदेशसभा सदस्यमा नेकपा(माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा (एकीकृत समाजवादी)को त्रिपक्षीय भिडन्त हुँदै छ । सत्ता गठबन्धनमा प्रदेश सभा (क) मा सत्तारूढ गठबन्धन दलका बीचमा सहमति नजुट्दा एकीकृत समाजवादीले पनि उमेदवारी दिएको छ ।
आधिकारिक रूपमा कांग्रेस–माओवादी गठबन्धनबाट टेकेन्द्रप्रसाद भट्टको उमेदवारी छ । भट्ट माओवादी केन्द्रका जिल्ला इन्चार्ज पनि हुन् । ०६४ सालमा भएको पहिलो संविधानसभा सदस्यमा उनी कञ्चनपुर–३ बाट निर्वार्चित भएका थिए ।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्रीसमेत रहेका एकीकृत समाजवादीका प्रकाशबहादुर रावल पनि प्रदेशसभा सदस्यका उमेदवार छन् । उनी पार्टी केन्द्रीय सदस्य हुन् ।
एमाले–राप्रपा गठबन्धनबाट राप्रपाका धर्मराज जोशी उमेदवार छन् । उनी पूर्व प्रधानपञ्चसमेत हुन् भने राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष हुन् ।यसबाहेक अन्य साना दलका उमेदवार भएपनि उनीहरूलाई बलियो प्रतिस्पर्धीका रूपमा हेरिएको छैन ।
भट्टलाई कांग्रेसको साथ छ । यसले उनी बलियो त बनाएको छ । तर एमालेको साथ पाएका जोशी पनि बलिया बनेका छन् । रावलको प्रभाव पनि राम्रै देखिन्छ ।तर, मुख्य प्रतिस्पर्धा भने भट्ट र जोशीकै भएको नेताहरू बताउँछन् ।
प्रदेश सभा (क) मा भीमदत्त नगरपालिकाका १२ र बेदकोट नगरपालिकाको १ वडा गरी १३ वडाहरू पर्छन् ।गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा कांग्रेसले ९ वडा, एमालेले २, माओवादी केन्द्र र एकीकृत समाजवदीले एक–एक वडा जितेका थिए । त्यसैले पनि कांग्रेसको साथले आफूहरूलाई सहज भएको माओवादी नेताहरू बताउँछन् ।
स्थानीय तह निर्वाचनमा प्रदेश सभा (क) मा नेपाली कांग्रेसले ११ हजार, एमालेले ६ हजार ५३३, माओवादी केन्द्रले दुई हजार ३२५, नेकपा एकीकृत समाजवादीले दुई हजार ३७, राप्रपाले दुई हजार ९७९ मत प्राप्त गरेको थियो ।
माओवादी र समाजवादीको तालमेल भएकाले मतसंख्या यकिन भन्न सकिने अवस्था छैन ।प्रदेश सभामा कांग्रेसकै पिताम्बर जोशीले बागी उमेदवारी दिएका छन् ।