डडेलधुरा, १६ कात्तिक । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा यही कात्तिक १७ गते गृहजिल्ला डडेलधुरा आउने तय भएको छ । त्यस दिन आफ्नो निर्वाचन क्षेत्र पुगेर विभिन्न ठाउँमा आयोजना हुने आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
उनले १७ गते अमरगढी नगरपालिकास्थित बसपार्कमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले जानकारी दिए ।
“१८ गते बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई प्रधानमन्त्री देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ,” साउदले बाह्रखरीसित भने ।
ती सभामा सत्ता गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्य पदको उमेदवार रहेका खगराज भट्ट र गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने तयारी छ ।
०४८ सालदेखि निरन्तर डडेलधुराबाट निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका देउवाले पहिलोपटक कम्युनिस्टको पनि साथ पाएका छन् । अहिले देउवाको प्रचारमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी)का नेताहरू पनि संलग्न छन् ।
देउवाविरुद्ध लामो समय देउवाकै स्वकीयसचिव रहेका नेपाली कांग्रेस (बीपी)का कर्ण मल्ल, स्वतन्त्र उमेदवार सागर ढकाललगायत आठजना चुनावी मैदानमा छन् ।देउवाले श्रीमती आरजु राणा देउवामार्फत आसन्न निर्वाचनका लागि उमेदवारी मनोनयनपत्र दर्ता गराएका थिए ।