सरस्वती साफरी/धनगढी,२९ असोज । बाहिरबाट झट्ट हेर्दा एउटा गोठ जस्तो देखिन्छ । आधा भागमा टिनको पाता छ आधा भागमा मक्किएको खरले टालेको चुहिने छाना । छाना यस्तो उदाङ्गो छ की घर भित्रबाट आकाश देख्न सकिन्छ । घरको पछाडीपट्टिको भित्ता छैन । ढुङ्गाको जग पनि हार नमिलेको मकैको दाना जस्तै देखिन्छ। एकापट्टीको भित्ता बाढीले बगाएपछि पानीका बाछिटा रोक्न पालले घेरिएको छ। घर चुहिन थालेपछि सिकुवामा सधै बस्ने कुकुर घर छोडेर कतै गयो तर जाने ठाउँ कहि नभएपछि मान्छे भने त्यही चुहिने घरमा नै बस्न बाध्य छन् ।
कैलाली, घोडाघोडी नगरपालिका–१० घुम्नी भाकलकी बाटु जैसिनी (७६)को त्यो घर गत वर्ष बर्खे झरीले डुबाएको थियो । गाउँमै बाढी पसेकाले गाउँ पुरै बिचल्लीमा पर्योि । घर डुब्यो । अन्नपात थिएन तर पालेको बाख्रा पाठा सबै डुबे । घरको भित्ता रहेन । छयहत्तर वर्षीय बाटुको धेरै वर्ष फेरिए, कपाल सेताम्य भयो तर , अहिलेसम्म घरको छानो फेरिएको छैन ।
आर्थिक अभावका कारण बाटुले अहिलेसम्म खरको छानो फेर्न सकेकी छैनन् । उनि लगायत उनका परिवार पहिल्यैदेखि खरले छाएको घरमा बस्दै आएका छन । दश वर्ष अगाडि घुम्नी भाकलमा त्यहाँका सबैको एकै प्रकारको घर थियो, खरले छाएको । पैसा हुनेले घरको छाना फेर्दै गए । विपन्न परिवारको भने अहिले पनि उस्तै छ ।
घरको छानो हेर्दै मन अमिलो बनाएर बस्नुपर्ने बाटुले सुनाइन । उनले भनिन, “सबै टिनले छाएको घरमा बस्दा आफू खरले छाएको र त्यसमा पनि झरी पर्दा चुहिने घरमा बस्नुपर्दा आफ्नै भाग्यलाई दोष दिन्छु ।”
बाटु परिवारमा एक्ली अभिभावक हुन्। उनका छोराको देहावसान पछि बुहारीले अर्को बिबाह गरिन्। बुहारी त्यसपछि भारत गइन् तर नाति नातिनी बाटुकै संरक्षणमा छन ।
घरको आम्दानीको स्रोत भनेकै बाटुले सकारबाट पाउने बृद्ध भत्ता हो । पढाइ शुल्क तिर्न नसकेपछि नातिनी टीका खनालले १२ कक्षापछिको पढाइ छोड्नु पर्यो। । अर्की नातिनी पुनम ११ कक्षामा मा पढ्दै छन । नाति पवन ८ मा पढ्छन् । पढाई छोडेकी टीका हिजोआज दैनिक ज्याला मजदूरी गरेर आवश्यक नुनतेलको जोहो गर्छिन ।
जब पानी पर्न थाल्छ परिवारका सबैको मन आत्तिन्छ। किनकी पानी पर्दा घरको छानोबाट पानी चुहिन्छ । एउटै सुत्ने बिस्तारा भएकाले पालो गरि गरि सुत्नु पर्ने बाध्यता छ ।
सोही ठाउँकी देवकी बिस्टको पनि व्यथा उस्तै छ । देवकीका आफ्नै आँखाले छिमेकीको घर छाउन नसकेर पानीकै कारण ढलेको देखेको छ । आफ्नो पनि घर भत्किएला कि भन्ने चिन्ताले उनलाई घरिघरि पोलिरहन्छ ।
जब चाडपर्व आउँछन् मानिसहरु फुर्सदिला हुन थाल्छन् । चाडवाडको बेला गाउँघरमा घर बनाउन तथा छानो छाउन खर जुटाउने र छाउने समय पनि हो । आफ्नो कमाइले घरको छानो हाल्न नसक्नेहरुका लागि स्थानीय सरकारले सहयोगको बाचा पनि गर्योन। गत वर्ष नै स्थानीय तहहरूबाट खरको छानामुक्त बनाइदिने भन्दै प्राविधिक आए । उनीहरु घरको चार कुना नापजाँच गरेर गए ।
देवकीको घरको छानो गत वर्ष नै छाउनुपर्ने थियो । उनले घर छाउनका लागि खर काट्न तयारी गर्दागर्दै स्थानीय तहबाट प्राविधिक आएर चार कुना नापजाँच गरे । खरले छाएका घरमा जस्ताको पाता दिइने भएपछि उनको खुशीको सीमा नै रहेन । त्यो खुशी धेरै समय रहेन । गत वर्ष नै नापजाँच गरिए पनि अहिलेसम्म जस्ताको पाता नपाउँदा उनमा निराशा छाएको छ ।
नगर प्रमुख खडक रावत जनता आवास कार्यक्रमको नाममा गरिव दिन दुखिको विचल्ली भएको आफूले देखेको बताउँछन् । यता पुर्व नगर अध्यक्ष ममता प्रसाद चौधरीले पहिलो कार्यकालमा कोरोना माहमारिले स्थानीय तहको बजेट कोरोना कोषमा गएकाले पूर्ण रुपमा काम गर्न नसकेको बताए । नगरपालिकामा भएको बेतिथि (कर्मचारी सरुवा ) ले प्राबिधिक कार्य अगाडी बढाउन नसकेको भवन तथा वस्ती विकास शाखाका इन्जिनियर किशोर भट्टले बताएका छन् ।
नेपालको संविधान ०७२ को भाग तीन अन्तर्गत रहेको मौलिक हक मध्ये सुरक्षित आवास पनि एक हो । जस अनुसार सघन शहरी तथा भवन निर्माण आयोजना मार्फत संघिय सरकारको तर्फबाट यस बर्ष पूर्ण तथा आंशिक क्षति भएकाको पहिचान गरि जस्ता पाता पाउने भएका छन । घोडाघोडी नगरपालिकाले आर्थिक वर्ष ०७८/०७९ मा आर्थिक अवस्था कमजोर भएका तथा बाढीबाट बिस्थापित हुन पुगेकाको पहिचान गरि उचित ब्यबस्थापन गर्ने लक्ष्य लिएको नगर अध्यक्ष खडक रावतले बताए ।
सुरक्षित जनता आवास कार्यक्रम अन्तर्गत अघिल्लो आर्थिक बर्ष ०७८ र०७९ मा ५७ घरमा छाना फेरिएको थियो । त्यस्तै यस आर्थिक बर्ष ०७९ र ०८० मा १८१ घरको छाना विस्तापित गर्नु पर्नेमा आर्थिक अभावका कारण जनता आवास कार्यक्रमले निरन्तरता पाउन सकेन । जसअनुसार तेस्रो आर्थिक बर्षमा वडा नम्बर १ र ९ मा गरि जम्मा ५७ घरमा छाना फेरिएको हो । बर्षेनी आउने बाढी र हावाहुरी लगायत प्राकृतिक प्रकोपले बिचल्ली बनेका जनताले सुरक्षित बस्न पाउने भन्दै जनता आवास कार्यक्रम जनस्तरमा ल्याइएको हो ।
यस बर्ष(२०७९) कान्द्रा नदीले गत बुधबार(असोज २५ )देखि परेको वर्षाका कारण पूर्वी कैलाली डुबानमा परेको हो । जिल्लाको टीकापुर नगरपालिका क्षेत्रका विभिन्न बस्ती डुबानमा परेका हुन् । कान्द्रा र कर्णाली नदीको पानी बस्ती पसेकाले टीकापुर क्षेत्र डुबानमा पर्दै आएको हो ।
०६४ सालमा आएको ठुलो बाढीले यहाँको करिब १ सय बढी घर डुबानमा परे । नगरपालिकाको सिसैया, जनकपुर हुदै घुम्नी भाकलका धेरै बस्तीहरु डुबानमा परे । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार कान्द्रा नदीमा आएको सबै भन्दा ठुलो बढी ०६४ /०६५ र ७५ मा आएको बाढी हो । पहिलो बाढीले कैलाली जिल्ला दक्षिण पूर्वी क्षेत्र प्रभावित भएको थियो । उनका अनुसार कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेका हुन । रातको समयमा एक्कासि आएको बाढीका कारण स्थानीयलाई सुरक्षित स्थानमा बसोबास गराउन अप्ठेरो भएको थियो ।
नगरपालिकास्थित वडा नं १० पुरै र वडा नं ५ का अधिकांश घर डुबानमा परेको घोडाघोडी नगरपालिकाले जनाएको छ । घोडाघोडीमा आएको बाढीमा परी बालबालिकाहरुको बिचल्ली भएको थियो । त्यो बेला कैलालीमामात्र बाढीले बगाएर तीन जना बेपत्ता भएका थिए भने तीनजनाको सकुशल उद्धार गरिएको थियो ।
जिल्ला डुबानबाट जोशीपुर गाउँपालिका र भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएका थियो जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार भजनीमा दुई हजार एक सय परिवार बाढीबाट प्रभावित भएको थियो । भजनी– थापापुरका मात्रै एक हजार एक सय ७० परिवार डुबानमा परेका थिए भने दुई सय परिवार विस्थापित भएका थिए ।
कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा पारेको थियो । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको थियो भने पशु चौपायासमेत आहाराको अभावमा समस्यामा परेका थिए ।
बाढीले सबैभन्दा बढी घोडाघोडी र भजनीका नागरिकको जनजीवन अस्तव्यस्त भएको थियो । घर बाढीमा डुबेको छ , घरमा भएका अन्नपात, लुगा कपडा बाढीमा बगेका छन भने धान लगाएको खेत पनि डुबान र कटानले क्षति भएको छ । बाढीले विस्थापित भएका नागरिकलाई आफै पेट भर्न र वस्तुभाउलाई के खुवाउने भन्ने पिर परेको छ । सडकमा बसेका नागरिक चाउचाउ र चिउराका भरमा बसेका छन भने वस्तुभाउलाई खुवाउने आहारा जोहो गर्न सकिएको छैन ।
दोस्रो पटकको अविरल बर्षाका (असार २५ देखि) कारण पूर्वी कैलालीमा झण्डै ६०० घर डुबानमा परे । कान्द्रा र पथरिया नदीको बाढी बस्तीमा पस्दा पाँच सय बढी घर डुबानमा परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक( डिएसपी) वेदप्रकाश जोशीले भजनी नगरपालिका–८ मारहेको पथरिया नदीको पानी बस्तीमा पस्दा करिब १६० घरधुरी डुबानमा परेको जानकारी दिए ।
उनकाअनुसार सोनाफाँटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका घरहरु डुबानमा परेका हुन् । यस्तै कान्द्रा नदीमा पानीको सतह बढेर बस्तीमा पसेपछि मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० घर डुबानमा परे भने कान्द्रानदीकै बाढीले भजनीनगरपालिका–७ को शिविर टोल,गणेशमान टोल र दक्षिणपूर्व टोलका पनि करिब २५० घर डुबानमा परेका हुन् ।
त्यस्तै, गत असोज १९ गते देखि आएको बेमौसमी बाढीले टीकापुरका वडा नं. २, ५ र ८ मा सयौँ घर डुबानमा परे । वडा नं. २ मा रानीकुलो विभिन्न ठाउँमा फुटेर बस्तीमा पसेपछि विभिन्न बस्ती डुबानमा परेका वडा नं.२ का वडाध्यक्ष दीपक चौधरीले बताए । “खतरामा छौँ, मूलपानी जाने बाटो नजिकै रानीकुलो ड्याम फुटेको छ । कटासे नजिकै जगतपुर र मिलनचोकमा रानीकुलो फुटेर बस्तीमा पसेकाले डुबान भएको छ”, उनले भने, “बन्दीपुर, कोठारपुर, विजयनगर, राजीपुर, सीतापुर डुबानमा परेकाले हामी उद्धारमा खटेका छौँ ।” बर्षेनी बाढी गाउँमा पस्नुको कारण के हो भन्ने हाम्रो प्रश्नमा उनि भन्छन् , “ कान्द्रा र कर्णालीको भेल कतिबेला आउँछ थाह हुदैन । उचित निकास दिनको लागि नदि तटीय क्षेत्रमा पर्खाल लगाउन सक्यौ भने मात्र दिर्घकालिन समाधान हुन् सक्छ ।”
टीकापुरको वडा नं. ५ मा पनि रानीकुलो बस्तीमा पसेको छ । यसका साथै शाहीपुरमा कर्णाली र कान्द्रा नदीको तटबन्ध भत्कने खतरा बढेकाले नागरिकलाई सुरक्षित राख्न विभिन्न प्रयास भइरहेका वडाध्यक्ष बलवीर चौधरीले जानकारी दिए । “उर्दिपुर, बङ्गालपुर, झन्टझटपुर मनिकापुर पूरै जलमग्न भएको छ”, उनले भने, “शाहीपुरमा कर्णाली नदीमा तटबन्ध फुट्ने खतरा बढेको छ । त्यसैले त्यहाँका बस्तीलाई उच्च स्थानमा सारिरहेका छौँ ।”
कर्णाली र कान्द्रा नदीमा पानीको सतह बढेर विभिन्न वडामा बाढी आएपछि सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारू, उपप्रमुख खड्कबहादुर शाह, प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीलगायत सबै पीडितको उद्धारमा खटिएका थिए । प्रदेश संरचनाको पहिलो अनुभवमा कोरोनाले ब्याप्त पारेर नदि तटिए क्षेत्रमा काम गर्न नसकेको कानुनमन्त्री डा। रणबहादुर रावलले बताए ।
“कान्द्रा र कर्णाली नदीले कम्तिमा १० हजार जनालाई प्रभावित पारेको छ । प्रदेश सरकार मातहतको बजेटले पूर्ण रुपमा तटबन्ध गर्न सकिएपनि संघीय सरकारसंग समन्वय गरेर बिशेष पहल गर्नेछौ । ”, उनले भने, “हिजोको दिनमा बन सम्पदाहरु धेरै थिए बाढी आउने सम्भावना न्यून थियो, नदि छेउका बोटबिरुवा सबै सकिएकाले बाढी गाउँमा पस्छ ।”
प्रदेश सरकार तथा स्थानीय तहबाट अहिले सम्म वातावरणीय क्षेतीको लागि राहत वितरण बाहेकका कुनै काम पनि गर्न नसकेको सरोकालवाला निकायको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा विभिन्न जैविक तटबन्ध( बोरामा माटो भरेर) बाहेकका कुनै काम गर्न सकेका छैनन् । बाढीले खतराको तह पार गर्ने भएकाले जैविक तटबन्धले बस्ति डुबान रोक्न कुनै प्रभावकारी भएन । प्रजातन्त्र हुदै गणतन्त्र, त्यसमा पनि घर आँगनको सिंहदरवार –वडा सरकारको अधिकार पाएका जनताले कुनै तन्त्रको स्वाद चाख्न पाएका छैनन् । यहाँका जनताले तन्त्र फेरिएको देखे मन्त्र फेरिएको पनि देखि तर आफ्नै घरको छाना फेरिएको कहिल्यै देख्न पाएनन् ।
