धनगढी,२८ असोज । कैलालीमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि थारु सामुदायबाट ४२ दशमलव ८४ प्रतिशत उमेदवार खडा भएका छन् । जिल्लाको पाँच निर्वाचन क्षेत्रमा थारु सामुदायबाट प्रतिनिधिसभामा १२, प्रदेशसभामा २२ गरी जम्मा ३४ जना चुनावी प्रतिस्पर्धामा छन् ।
धनगढीस्थित सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख प्रेमराज भट्टले जिल्लामा १२६ जनाको उमेदवारी रहेको जानकारी दिए । जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि १४४ जनाले उमेदवारी दर्ता गराएकामा बुधबार १८ जनाले फिर्ता गरिएपछि १२६ जना चुनावी मैदानमा उत्रिएका हुन् ।
कैलालीमा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा ४८ तथा प्रदेशसभामा ७८ जना उमेदवार छन् । पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रतिनिधिसभाका लागि क्षेत्र नं १ मा थारु सामुदायवाट तीन जनाले उमेदवारी दिएकामा नेपाली कांग्रेसबाट रामजनम चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ चौधरी र नेपालका लागि नेपाली पार्टीबाट मानबहादुर चौधरी छन् ।
निर्वाचन क्षेत्र नम्बर–२ मा पनि नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीबाट कमलेश चौधरी र नेपाल लोकतान्त्रिक पार्टीबाट देशराम चौधरीले निर्वाचनमा प्रतिस्पर्धा गर्दै छन् । त्यसैगरी, क्षेत्र नं ३ पनि सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का कुमार चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट गङ्गाराम चौधरी र नेकपा (एमाले)बाट गौरीशङ्कर चौधरी प्रतिस्पर्धामा छन् ।
निर्वाचन क्षेत्र नं ४ मा नागरिक उन्मुक्ति पार्टीबाट कइया चौधरीले प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिएका छन् । कैलाली क्षेत्र नंं ५ मा थारु समुदायका दुईजना उमेदवार छन् । यहाँ एमालेबाट नारदमुनि राना र स्वतन्त्रबाट जगदीश चौधरीसहित बाह्र (१२) जनाको उम्मेदवारी परेको छ ।
त्यसैगरी, १० वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको कैलालीमा प्रदेशसभाका लागि कैलाली क्षेत्र नं १ को प्रदेशसभा (क) मा पाँच, प्रदेशसभा (ख) मा चार जना थारु समुदायका प्रतिस्पर्धी छन् भने निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा ९क० मा एक र प्रदेशसभा (ख) मा दुईजना उमेदवार थारु समुदायबाट छन् ।
निर्वाचन क्षेत्र नं ३ को प्रदेशसभा (क) मा तीन र प्रदेशसभा (ख) मा पनि तीन गरी ६ जना थारु समुदायका उमेदवार निर्वाचनमा होमिएका छन् । क्षेत्र नं. ४ प्रदेशसभा (क) मा एक र क्षेत्र नं ५ बाट प्रदेशसभा (क) मा दुई र प्रदेश (ख) मा एक जना थारु समुदायका प्रदेशसभा सदस्य उमेदवार छन् । रासस