धनगढी, १६ असोज । कैलालीको धनगढीमा विभिन्न सुरक्षा निकायहरुले फूलपाती भित्र्याएका छन्। धनगढीको वनदेवी र नैनादेवी मन्दिरबाट नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरीले फूलपाती भित्र्याएका हुन्।
फूलपाती भित्र्याउने कार्यक्रममा प्रमुख जिल्ला अधिकारी किरन थापासँगै सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो। मुलुकका सुरक्षा निकायहरुले विधिपूर्वक फूलपाती भित्र्याइएको जनाएका छन्। फूलपातीको साइत बिहान १० बजेर ३ मिनेटमा थियो।
आज दशैंको सातौ दिन देशभरी पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइने चलन छ। आश्विन शुक्ल सप्तमी अर्थात फूलपातीका दिन फूलपाती नौ देवीको प्रतीकका रुपमा भित्र्याई शास्त्रीय विधि अनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा. रामचन्द्र गौतमले बताए ।