काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य दीपा न्यौपानेले भारतको आई लिग छनोट खेल्ने भएकी छन् ।नेपाल पुलिस क्लबकी मिडफिल्डर दीपा आई लिग छनोट खेल्न बुधबार त्यसतर्फ प्रस्थान गरेकी छन् । दीपाले केरेला महिला लिगमा डन बोस्को फुटबल एकेडेमीको प्रतिनिधित्व गर्नेछिन् । केरेला महिला लिगको उपाधि विजेता आई लिगमा छनोट हुनेछ ।“भारतमा प्रतियोगिता खेल्न पाउँदा निकै खुसी छु । यो मेरो विदेशमा पहिलो अवसर समेत हो,” दीपाले भनिन् ।
नेपाली राष्ट्रिय फुटबल टोलीकी सदस्य सावित्रा भण्डारी सम्मिलित गोकुलम केरेला, केरेला ब्लास्टर, केरेला युनाइटेडजस्ता क्लबहरू सहभागी हुने केरेला लिगमा डन बोस्को साविक उपविजेता हो ।दीपाको सम्झौता अवधि एक वर्ष भएको बताइएको छ । यद्यपि, सम्झौता रकम भने खुलाइएको छैन ।“अहिलेलाई प्रतियोगिताको लागि सम्झौता भएको छ । आई लिगमा छनोट भए त्यसमा पनि अवसर मिल्ने समझदारी भएको छ,” दीपाले भनिन् ।
