चितवन ६ , असार। नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ।
भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ।
उनले भने, यहाँको उत्पादन विदेशसम्म पुग्ने गरेको छ। मेरोमा किन्न आउनेमध्ये एक जना विदेशी ग्राहक छन्। उनले सातामा दुई पटक कुरिलो लाने गरेका छन्। एक पटकमा ५० किलो कुरिलो विदेश जाने गरेको उनको भनाइ छ।
विगत ६ वर्षदेखि कुरिलो उत्पादन गर्दै आएका सुवेदीले अहिले दैनिक ३० जनालाई रोजगारी दिँदै आएका छन्। कुरिलो व्यवसाय दुई बिगाह क्षेत्रफलमा गर्दै आएका सुवेदीले क्षेत्रफल बढाउने तयारीमा रहेको जानकारी दिए।
कुरिलो व्यवसायबाट मात्रै वार्षिक २० लाख रुपैयाँ आम्दानी गर्ने गरेको उनले बताए। वार्षिक १५ हजार किलो कुरिलो बिक्री गर्ने गरेको उनको भनाइ छ।
भरतपुर महानगरमा व्यावसायिकरुपमा कुरिलो खेती आफूले मात्रै गरेको बताउदै उनले उत्पादनको समयमा बजार मूल्य नपाउँदा समस्या हुने गरेको बताए।
उनले भने, कुरिलो उत्पादनका लागि वैशाखदेखि भदौसम्मको समय उत्तम भए पनि सोही समयमा मूल्यमा गिरावट हुने गरेको छ। अहिले बजारमा कुरिलोको मूल्य प्रतिकिलो ३०० रुपैयाँ रहेको छ।
कुरिलो मात्रै नभएर तरकारीमा विचौलिया नियन्त्रण हुनसके राम्रो मुनाफा हुने उनले जानकारी दिए। आफू २५ वर्षको उमेरदेखि कृषि कर्ममा लागेको बताउँदै उनले नेपालमानै काम गरे विदेशको भन्दा राम्रो आम्दानी लिन सकिने बताए।