धनगढी, ८ जेठ । धनगढी उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई पराजित भएका कांग्रेससका नृपबहादुर वडले अंकमाल गरेर बधाई दिएका छन्। हमाललाई अंकमाल गरेर बधाई दिँदै वडले हार्दिकता देखाएका हुन्।
अघिल्लो पटक हमाललाई नै हराएर मेयर बनेका वड यसपटक सत्ता गठबन्धनबाट साझा उम्मेदवार बनेका थिए। तर उनी १२ हजारभन्दा बढी मतान्तरले पराजित भएका छन्। अन्तिम परिणाम अनुसार हमालले २६ हजार ८६५ मत पाएका छन्।
मेयरमा पराजित भएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निवर्तमान मेयर समेत रहेका वडले आफू मेयर हुँदा गरेका राम्रा कामलाई निरन्तरता दिन नवनिर्वाचित मेयर गोपाल हमाललाई आग्रह गरेका छन्। ‘राम्रा कामलाई निरन्तरता दिनुहोला भन्ने सुझाव दिएको छु,’ उनले भने, ‘नराम्रा कामलाई सच्याएर जानुहोला। राम्रा काममा सहयोग रहने छ।’