धनगढी, ४ वैशाख/धनगढीमा शनिबार देखी सुरु भएको रात्रीकालिन बिवाईसी महिला गोल्ड कपको विभागीय टिम नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । वनदेवी युवा क्लबको आयोजनमा धनगढी रङ्गशालामा सुरु भएको भएको प्रतियोगिता अन्तर्गत नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिका रौतहट बिच भएको खेलामा रौतहटलाई १–० गोल अन्तरले पराजितगर्दै नेपालपुलिस क्लबले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोल रहित बराबरीमा रहँदा दोस्रो हाफको ५९ औँ मिनेटमा रेखा पौडेलले गोल गर्दै पुलिसलाई अग्रता दिलाइन । निर्धारित ९० मिनेटको खेलमा चन्द्रपुरका तर्फबाट कुनै पनि गोल हुन नसके पछि रेखाको गोल नै निर्णायक गोल बन्यो । वैशाख १० गतेसम्म सञ्चालनहुने गोल्डकपमा ३ विभागीय सहित ८ टिमको सहभागिता रहेको छ । गोल्डकपको विजयी टिमले ट्रफी सहित नगद ५ लाख र उपविजेताले ट्रफीसहित २ लाख ५० हजार रुपैयाँ पुरस्कार राशि प्राप्त गर्ने छ ।
प्रतियोगितामा म्यान अफ दी म्याचलाई ५ हजार, त्यस्तै विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार र प्रतियोगिता भरी उत्कृष्ट हुने खेलाडीले नगद ५० हजार रुपैयाँ प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष सुसन जोशीले बताए । धनगढीमा दिउँसो अत्यधिक गर्मी हुने भएकोले पहिलो पटक रात्रिकालीन प्रतियोगिता आयोजना गरिएको हो ।
