काठमाडौं,९ चैत / भारतीय बजारमा बिजुलीको भाउ बढेपछि नेपाल विद्युत प्राधिकरणलाई आयात गर्नका लागि बिजुली किन्न मुस्किल परिरहेको छ।
प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार कोइलाको अभाव र पेट्रोलियम पदार्थको भाउ बढेकाले भारतीय बजारमा बिजुलीको भाउ पाँच गुणासम्म बढेको छ। एक महिनाअघि रूसले युक्रेनमाथि आक्रमण गरेपछि संसारभरि नै पेट्रोलियम पदार्थको भाउ आकाशिएको छ।
‘पहिला हामी प्रतियुनिट ५ भारूमा बिजुली किन्थ्यौं। मंगलबार ९ रुपैयाँमा किन्न खोज्दा पनि बिजुली भनेजति पाइएन,’ भट्टराईले भने,‘हिजो प्रतियुनिट ११ रुपैयाँ तिर्नेले बिजुली किन्न पाए।’
भारतमा बिजुलीको भाउ प्रतियुनिट भारू २० सम्म पुग्ने गरेको छ। नेपालमा प्राधिकरणले ग्राहकलाई १० रुपैयाँसम्ममा बिजुली बेच्दै आएको छ।
‘भारतमा भाउ निकै महंगो भएपछि प्राधिकरणलाई बिजुली किन्न मुस्किल भएको हो,’ प्रवक्ता भट्टराईले भने,‘त्यसको असरले लोडसेडिङ त हुँदैन। हाम्रो आफ्नै उत्पादन छँदै छ। तर औद्योगिक क्षेत्रमा भनेजति बिजुली नपुग्न सक्छ।’
नेपालले अहिले दैनिक ४ सय मेगावाटको हाराहारीमा बिजुली भारतबाट आयात गरिरहेको छ। त्योमध्ये ठूलो मात्रा खुला बजारबाट किन्छ भने केही बिजुली राज्यस्तरका निकायबाट किन्दै आएको छ।
भारतबाट आउने बिजुली महंगो भएपछि प्राधिकरणले साँझ पिक आवरमा कुलेखानी र तामाकोशी पूर्ण क्षमतामा चलाउने गरेको छ।