काठमाडोँ, २२ फागुन । एक महिलाको हत्यामा संलग्न भएको आरोपमा सुनसरी प्रहरीले २४ वर्षका एक युवकलाई पक्राउ गरेको छ।
पाँच दिनअघि धरानको बुद्धचोकस्थित न्यू कान्तिपुर होटल एण्ड गेष्ट हाउसमा पाँचथर घर भएकी ३९ वर्षीया सुमित्रा तामाङ मृत फेला परेकी थिइन्। उनको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका –६ फलाटे घर भएका २४ वर्षका दिनेश राना मगरलाई पक्राउ गरेको हो।
महिलाको हत्यामा संलग्नको खोजी गर्ने क्रममा मगरलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए।शनिबार छगर जोरपाटी गाउँपालिकास्थित ससुराली घरबाट दिनेशलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
इटहरीमा बस्दा चिनजान भएपछि तामाङसँग मगर नजिकिएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पछिल्लो समय उनी भोजपुरमा बसेर डोजरको सहचालक भएर काम गर्दै आएका छन्। उनीहरुबीचको सम्बन्धमा खतपट सुरु भएपछि दिनेशले हत्या गरेको प्रहरीले जनाएको छ।
पाँचथर मिक्लाजुङ १ की ३९ वर्षीया तामाङ हाल इटहरी ५ तुलसा टोलमा बसोबास गर्दै आएकी थिइन्।