धनगढी, २० फागुन । धनगढीमा जारी सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताबाट ए डिभिजन क्लब न्युरोड टिम एनआरटी बाहिरिएको छ ।
धनगढी रंगशालामा शुक्रबार बागमती युथ क्लबसँग पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले पराजित भएपछि एनआरटी बाहिरिएको हो ।
प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय २÷२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा बागमतीका अमुल श्रेष्ठ, बिजय घलान, हिमाल घलान र अनिल राना मगरले गोल गरे ।
उसका सुमन राई पेनाल्टीमा चुके । एनआरटीका शिव गुरुङ, दिपेश घले र मेसुके ओलोमोउले गोल गरे । तर, आन्द्रे थिएरी र सन्जिब विष्टले पेनाल्टीमा गोल गर्न सकेनन् ।
पेनाल्टी अघि एनआरटीले दुई गोलको अग्रता जोगाउन सकेन । जसको कारण एनआरटी पहिलो खेलबाटै बाहिरिन बाध्य भयो ।
