काठमाडौँ, १० फाल्गुन । नेपालले आइसीसी टी–२० विश्वकपमा पुग्न १७६ रनको लक्ष्य पाएको छ।
ओमानमा जारी ग्लोबल छनोटको सेमिफाइनलमा यूएईबाट नेपालले उक्त लक्ष्य पाएको हो। उक्त लक्ष्य भेटाउन सके नेपाल यसैवर्षको अक्टोबर–नोभेम्बरमा अष्ट्रेलियामा हुने टी–२० क्रिकेट विश्वकपमा छनोट हुनेछ।
अल अमिरात क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७५ रन बनायो। यूएईका ओपनर मोहम्मद वासिमले ७० रन जोडे। ४८ बलमा उनले ४ चौका र ४ छक्का प्रहार गरे।
यस्तै आक्रामक खेलेका ब्रित्य अरभिन्दले २३ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोडे। दोस्रो विकेटका लागि वासिम र अरभिन्दबीच ६६ रनको साझेदारी गर्दै इनिङ्स अघि बढाएका थिए।
यस्तै यूएईका मोहम्मद उस्मानले १७, जावर फारिदले ११ थपे। नेपालका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २४ रनमात्रै खर्चेर १ विकेट लिए।