धनगढीमा ठगी धन्दा चलाएको आरोपमा पक्राउ परेका सञ्जय राना सहित तीन जनालाई आज जिल्ला अदालत कैलालीमा पेश गरिने भएको छ। यसअघि चार पटक म्याद थप भईसकेकोमा आज पनि अदालतमा उनीहरुलाई पेश गर्न थालिएको हो। भदौ १८ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले हिरासतमा राखेको ४२ दिन भईसकेको छ।
‘ठगी, सरकारी छाप दस्तखत किर्ते र हातहतियार खरखजनामा बढिमा २५ दिन मात्रै प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न पाउने प्रावधान रहेको छ,’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने, ‘तर दशैँ विदा र अन्य सार्वजनिक विदाका कारण उनीहरुलाई अहिले सम्म हिरासतमा राखिएको छ।’
‘आज तीन जनालाई अदालतमा पेश गर्ने तयारी छ, तीनै जना विरुद्ध संगठीत अपराधमा पनि मुद्धा दर्ताको तयारी भएकोले अझै म्याद थप्न सकिने सम्भावना रहेको छ।’ प्रहरी नायव उपरिक्षक बस्नेतले भने। उनका अनुसार संगठीत अपराधमा मुद्धा दर्ता भए ६० दिन सम्म म्याद थप्न सक्ने प्रावधान रहेको छ।
संगठीत अपराधमा मुद्धा दर्ता नभए प्रहरीले अनुसन्धानको प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाउने र उनीहरुलाई पुर्पक्षका लागि कारागार पठाउने सम्भावना बढि रहेको उनले बताए। धरौटीमा छोड्न सक्ने व्यवस्था भएपनि यस्तो अपराधमा छोड्ने सम्भावना निकै न्यून हुने उनले बताए।
प्रहरीले तीन जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेकोमा थप एक जनालाई पक्राउ पनि गरेको छ। सञ्जय रानाकी साली कल्पना दिवाकोटीलाई पनि पक्राउ गरि अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक बस्नेतले बताए। दिवाकोटीको नाममा पनि नक्कली कागजात भेटिएकोले उनको समेत संग्लनता रहेको आशंकामा पक्राउ गरिएको हो।
धनगढी उप–महानगरपालिका–६ मटियारीका राना सहित सोही ठाउँका कमल बहादुर बिक र वडा नम्बर ३ का रुद्रप्रसाद अधिकारीलाई प्रहरीले भदौ १८ गते धनगढीकै विभिन्न स्थानबाट पक्राउ गरेको थियो। उनीहरु विरुद्ध अहिले ठगी, सरकारी छाप दस्तखत किर्ते र हातहतियार खरखजनामा मुद्धा चलिरहेको छ।
राना सहित तीन जनामाथि पोलीग्राफ परीक्षण पनि भईसकेको छ। संलग्न भएका अपराध र आफ्नो समूहका विषयमा उनीहरुले बताउन नमानेपछि पोलीग्राफ परीक्षण गरिएको थियो। तर परिक्षणबाट खासै उपलव्धी नभएको समेत प्रहरीले जनाएको छ।
प्रहरीले तीन जनालाई पक्राउ गर्दै उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात बरामद गरेको थियो। विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक बरामद गरिएको थियो भने विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको थियो। दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको थियो।
एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको थियो भने छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरेको थियो। नापी कार्यालय, मालपोत, राजश्व संगै सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरिएको हो भने राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरिएको थियो। यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता पनि भेटिएको थियो।