कञ्चनपुर,४ फाल्गुन । एमसीसी सम्झौता गर्न नहुने भन्दै कञ्चनपुरको पुनर्वासमा प्रदर्शन गरिएको छ । यहाँका युवाहरूले टायर बालेर सरकार विरुद्ध नाराबाजी गर्दै बुधवार प्रदर्शन गरेका हुन् ।
सरकारले अमेरिकासँगको एमसीसी सम्झौता संसदमा टेबुल गर्ने तयारी अघि बढाएपछि पुनर्वासका युवा समूहहरूले पनि विरोध कार्यक्रमलाई समर्थन गर्दै टायर बालेर सरकार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।
बुधवार बिहान युवा नेता तथा सामाजिक अभियन्ता हिमेश थापाको नेतृत्वमा रहेको एक युवा समूहले आई.बि.आर.डी. बजारमा टायर बालेर राष्ट्रघाती दलालहरू होसियार, रिजेक्ट एमसीसी, हाम्रो देश प्राण भन्दा प्यारो छ, एमसीसी पास गर्ने सरकार चाहिँदैन जस्ता नारा लगाउँदै नेपाल बन्दलाई समर्थन जनाएका थिए ।
पुनर्वासका बजारहरू बिहान आंशिक खुलेपनी पछि बजार र सार्वजनिक यातायात भने बन्द नै देखिएका थिए । देशभर विप्लव नेतृत्वको नेकपासहितका ६ दलले सम्झौता खारेजीको माग गर्दै नेपाल बन्दको आह्वान गरेपछि केही प्रभाव पुनर्वास नगरपालिकामा पनि देखिएको हो ।