२९ माघ । पर्वतको कुश्मा नगरपालिका–४ डम्डारेखोला बस्ने एक व्यक्तिले हँसियाले हानेर श्रीमतीको हत्या गरेका छन्। बागलुङ जिल्ला बागलुङ नगरपालिका–६ घर भई हाल कुश्माबजारस्थित डम्डारेखोला बस्ने ४३ वर्षीय राजु परियारले अन्दाजी ४१ वर्षीया श्रीमती सीताको हत्या गरेका हुन्।
शुक्रबार बिहान १० बजेको समयमा परियारले श्रीमतीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए। उनका अनुसार मृतक महिलाको शरीरमा निलडामसहित टाउकोमा धारिलो हतियार प्रहार गरेको देखिएको छ। प्रहरीले आरोपित श्रीमान् राजु परियारलाई हँसियासहित नियन्त्रणमा लिएको छ।
यसअघि पनि उनीहरूबीच पटकपटक झगडा हुने र सामुदायिक सेवा केन्द्र र महिला तथा बालबालिका सेवा केन्द्रमा आएर मेलमिलापपश्चात् फर्किने गरेका थिए।
शुक्रबार बिहान पनि स्वास्थ्य परीक्षणका क्रममा श्रीमान् राजु परियारले रक्सी खाएको पाइएको पर्वत अस्पतालको स्वास्थ्य परीक्षण रिपोर्ट उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रदीप पौडेलले बताए।
मृतकका एक छोरा र एक छोरी छन्। तर दुवै छोराछोरी उनीहरूका साथमा छैनन्। शुक्रबार साँझ मात्रै आफन्तले किटानी उजुरी दिएको र शनिबार उनीहरूका आफन्त आएपश्चात् मृतकको शव बुझाउने प्रहरीले जनाएको छ। रासस