अमेरिकाकी एक महिलाले जेलभित्रै आफूमाथि यौन दुर्व्यवहार भएको आरोप लगाएकी छिन्।क्यालिफोर्नियाको डब्लिनस्थित सङ्घीय महिला कारागारका कैदीबन्दीले आफूलाई सुधार अधिकारी तथा वार्डनले समेत ‘यौन दुर्व्यवहार’ गरेको बताएकी हुन्।
कैदीहरूलाई बोल्न खोज्दा अक्सर धम्की वा सजाय दिइने गरेको समाचार संस्था एपीले उल्लेख गरेको छ।सङ्घीय सुधार संस्थाका कैदी तथा कामदारले कतिपय अधिकारीका कारण अमेरिकी जेल ‘बलात्कार क्लब’ भएको आरोप लगाएका छन्।
महिला कैदी तथा कामदारले जेल कर्मचारी र यहाँ सुधारका लागि राखिएका कैदीबाट ‘यौन दुराचार’ को सामना गर्नुपरेको बताएका छन्। यद्यपि यस्ता दुर्व्यवहारलाई पीडितबाहेकका सर्वसाधारणको नजरबाट लुकाइने गरेको उनीहरूको आरोप छ।
अध्ययन रिपोर्टमा भनिएको छ, ‘डब्लिनमा अहिलेसम्म यी र यसप्रकारका दुर्व्यवहारमा दोषी चार जना गिरफ्तार भएसँगै सङ्घीय जेल ब्युरोभित्र यो समस्याको महामारी देखिएको छ।’
सन् २०२० मा १२२ वटा जेलमा कर्मचारीहरूले गरेको यौन दुर्व्यवहारका ४२२ वटा गुनासो आएको थियो भने चारजना दोषी ठहर भएका थिए। २९० जनामाथि अझै अनुसन्धान चलिरहेको छ। रासस/सिन्ह्वा