काठमाडौं २४ माघ ।सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाएको छ। काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै फिल्महल सञ्चालन गर्न पाउने जस्ता आर्थिक तथा भौतिक गतिविधिहरुलाई सञ्चालन गरेर जनजीवनलाई थप सहज बनाएको हो।
पछिल्लो समय कोरोना भाइरसको संक्रमणको गति कम हुँदै गएको र अबका दिनमा स्वास्थ्यका मापदण्डहरुको पालना गरेर जनजीवनलाई सहज बनाउने उद्देश्यका साथ सरकारले पछिल्ला निर्णयहरु गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा।समीरकुमार अधिकारीले बताए। उनले कोरोनाका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको उल्लेख गर्दै जनजीवनलाई सहजीकरण गरिएको बताए।
सह प्रवक्ता अधिकारीका अनुसार नेपालमा १२ वर्ष माथिका १८ वर्ष मुनिका बालबालिकाहरुको संख्या अनुमानित ३४ लाख रहेको र ती मध्ये ३० लाख बालबालिकाहरुले खोपको पहिलो मात्रा लगाइसकेको बताए। उनले यो उमेर समूहका बाँकी ४ लाख बालबालिकालाई पनि चाँडै नै खोप उपलब्ध गराउने काम भइरहेको बताए।
सह प्रवक्ता अधिकारीले कोरोना संक्रमण भइ निको हुनेको संख्या बढी रहेकोले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्नेगरी जनजीवनलाई खुकुलो बनाउँदै लगिएको बताउनु उल्लेख गरे।
सह प्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, बेलाबेलामा साबुनपानीले हात धुन र स्यानिटाइजरको प्रयोग गर्न पनि आग्रह गरे।