काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार नेपालको ईतिहासमै सबैभन्दा असफल सावित भईसकेको बताएका छन् ।
सभापति देउवाले व्यापारीहरुलाई आजित बनाउने गरी कर बढाएको, जनतालाई दशैंमा सामान किनमेल गर्न समेत नसक्ने गरी महंगी बढाउने काम सरकारले गरेको भन्दै आक्रोश व्यक्त गरे । वडा दशैंको अवसर पारेर पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनता, उद्योगी, व्यापार सबै ओली नेतृत्वको वर्तमान सरकारसँग आजित भईरहेको दावी पनि गरे ।
‘ओली सरकार नेपालमा सबैभन्दा असफल सरकार सावित भएको छ,’ सभापति देउवाको दावी थियो, ‘अति धेरै कर बढाएर सारा उद्योगी, व्यापारी आजित छन, यति महंगी सरकारले बढाएको छ कि जनताले दशैंं खर्चसमेत धान्न सक्ने अवस्था छैन ।’ सभापति देउवाले सरकारले एकदलीय अधिनायकवादी सर्वसत्तावाद लाद्न प्रजातन्त्र विरोधी कानुनहरु बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए ।
कार्यक्रममा बोल्दै काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले आगामी निर्वाचनमा कम्युनिष्ट नेतृत्वको वर्तमान सरकार ढाल्ने गरी पार्टीको काममा लाग्न नेता, कार्यकर्तालाई आग्रह गरे । काँग्रेस नेता गगनकुमार थापाले सरकारले दुई तिहाईको तरबार देखाएर न्यायालयलाई समेत तर्साउने काम गरिरहेको उल्लेख गर्दै सैह्य नहुने चेतावनी दिए ।