आजको पत्रपत्रिकामा ह्याकरहरुले कृषि विकास बैंकको रकम लुटेको विषयलाई सबैजसो पत्रिकाले प्राथमिकताका साथ छापेका छन् । कान्तिपुर दैनिकमा मेडिकल कलेजहरुको नाफा डेढ अर्ब शिर्षकमा प्रमुख समाचार लेखेको छ ।
एक आर्थिक वर्षमा डेढ अर्ब रुपैयाँभन्दा बढी नाफा कमाउने मेडिकल कलेज सञ्चालकले शुल्क घटाउन थालिएकाले अब कलेज चलाउन नसक्ने धम्की दिएको समाचारमा उल्लेख छ । यसैगरी मनी चेन्जरहरु अपराधमा मुछिँदै गएको समाचारलाई पनि कान्तिपुरले पहिलो पृष्ठमा स्थान दिएको छ । कान्तिपुरमा कहिल्यै जुत्ता नलगाउनेहरुको समाचार छ ।
यसमा कालीकोट, रोल्पा, दाङ र धनकुटाका समाचारलाई प्रस्तुत गरिएको छ । नागरिक दैनिकमा परराष्ट्र मन्त्रालयको राहदानी विभागले खरिद गर्न लागेको इ–पासपोर्ट प्रणालीले राज्यकोषमाथि झण्डै एक अर्ब अनावश्यक व्ययभार पर्ने समाचार छापेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले खरिद गरिसकेको प्रणाली कमिसनको चक्करमा राहदानी विभागले पनि खरिद गर्न खोजेको र यदि खरिद गरिए राज्यकोषमा एक अर्ब व्यवभार थपिने समाचारको सार छ । कारोबार दैनिकले प्रदेश र स्थानीय सरकार केन्द्रमै निर्भर रहेको मुख्य समाचार छ ।
स्थानीय र प्रादेशिक सरकारले आफ्नै बजेटमा औसतमा २० प्रतिशत पनि योगदान गर्न नसकेको समाचारमा उल्लेख छ । गोरखापत्रमा किसानको नेता हुँ भनेर बस्ने होइन शिर्षकमा प्रमुख समाचार लेखको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानका नेता उत्पादनमा समेत स्थानीयस्तरमा नमुना बन्नुपर्ने बताएको खबर लेखिएको छ ।
