धनगढी, ६ माघ । युवा ब्याट्सम्यान लोकेश बमले पहिलो पटक राष्ट्रिय क्रिकेट टिममा स्थान बनाउन सफल भएका छन्। फेब्रुअरी १७ तारिख देखि ओमानमा आयोजना हुने टि–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ (क्यान) ले घोषित गरेको टिममा दुई युवा क्रिकेटरले मौका पाएका हुन् ।
लोकेश दुवै आक्रामक स्वभावका ब्याट्सम्यान हुन्। प्रधानमन्त्री कप टि–२० राष्ट्रिय प्रतियोगितामा लोकेशले नेपाल एपीएफ क्लबको तथा बिबेकले प्रदेश–२ को प्रतिनिधित्व गरेका थिए।
को हुन् लोकेश बम
नेपाली क्रिकेटमा अहिलेसम्मकै आक्रामक ब्याट्सम्यान मध्ये चिनिएका लोकेशले राष्ट्रिय टिममा बिनोद भण्डारी जस्ता खेलाडीलाई प्रतिस्थापन गर्दै स्थान बनाएका छन् । दायाँ हाते ब्याट्सम्यान पावरप्ले अथवा जुन सुकै स्थानमा ब्याटिंग गर्दै आक्रामक ब्याटिंग गरि खेल जिताउने क्षमता राख्ने गर्छन् ।
प्रधानमन्त्री कपमा लोकेशले दुई वटा अर्धशतक बनाएका थिए। उनले सेमीफाइनलमा आर्मी बिरुद्ध नेपाली घरेलु टि–२० इतिहासकै छिटो १४ बलमै अर्धशतक प्रहार गरेका थिए जुन क्रममा मात्र १८ बलमा २ चौका र ९ छक्का मद्दतले ६६ रन बनाएका थिए। उक्त इनिंग्समा उनले उत्कृस्ट लयमा रहेका आर्मीका पेसर जितेन्द्र मुखियालाई ६ वटा छक्का प्रहार गरेका थिए।
यस्तै लोकेशले प्रधानमन्त्री कप टि–२० मा बागमती प्रदेश बिरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए र २४ बलमा १० चौका र १ छक्का मद्दतले ५० रन बनाएका थिए। त्यस क्रममा उनले रामनरेश गिरिको एकै ओभरमा ५ चौका र १ छक्का प्रहार गरेका थिए।
लोकेशले यस अघि नेपाली अन्डर-१९ राष्ट्रिय टिमको लागि खेलीसकेका छन्। सन् २०१८ मा भारतको लखनउमा आयोजित त्रिकोणात्मक सिरिजमा उनले पहिलो पटक युवा राष्ट्रिय टिममा मौका पाएका थिए। उनले उक्त सिरिजमा अफगानिस्तान यु–१९ बिरुद्ध दुई खेलमा मौका पाउदा १६ र २५ रन बनाएका थिए। त्यस अघि उनले २०१७ को धनगढी प्रिमियर लिग अघि खेलिएको नेपाल–११ र धनगढी-११ बीचको खेलमा धनगढी–११ टिमको प्रतिनिधित्व गरेका थिए। उक्त खेलमा उनले अविजित १० रन बनाउदा ७ बलमा २ चौका प्रहार गरेका थिए।
२०१७ मा धनगढी–११ को प्रतिनिधित्व गर्दै लोकेश बमले नेपाल-११ बिरुद्ध खेलेका थिए । धनगढीका लोकेशको आक्रामक ब्याटिंग क्षमताको पहिलो परिचय २०१९ मा आयोजित पोखरा प्रिमियर लिगमा भएको थियो। उक्त प्रतियोगितामा उनले बिराटनगर टाईटन्सको प्रतिनिधित्व गरेका थिए।
उक्त प्रतियोगितामा पारस खड्का कप्तानीको चितवन राइनोज बिरुद्ध उनले मात्र ३६ बलमा ५ चौका र ५ छक्का मद्दतले ६२ रन बनाएका थिए। उक्त खेलमा उनले करन केसी, बिक्रम सोब, रोहन मुस्तफा, पारस खड्का जस्ता बलर बिरुद्ध आक्रामक सटहरु प्रहार गरेका थिए।
गत वर्ष प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा लोकेशले आर्मीको प्रतिनिधित्व गर्दै ६ खेलमा १२७ रन बनाएका थिए जुन क्रममा उनको स्ट्राइक रेट ११३।३९ थियो। उक्त प्रतियोगितामा सय रन भन्दा बढी रन बनाउने ब्याट्सम्यानमा १०० माथिको स्ट्राइक रेट भएका लोकेश मात्र तेश्रो ब्याट्सम्यान थिए। उनि गत वर्ष नेदरल्याण्ड र मलेसियासंग खेलिएको त्रिकोणात्मक टि(२० सिरिजमा समेत प्रारम्भिक टिममा थिए। यस्तै उनि गत वर्ष विश्वकप लिग(२ को ओमान र अमेरिकासंग फेब्रुअरीमा हुने भनिएको सिरिजमा समेत प्रारम्भिक २४ सदस्यीय टिममा थिए तर उक्त प्रतियोगितानै कोरोनाका कारण स्थगित भएको थियो।