दुरुत्साहनको मुद्धा लागेपछि कैलालीमा सल्पास खाएर बुवाछोरीले आत्महत्या गरेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्वर ५ का रामवहादुर कलेलले सल्पास सेवन गरेर आत्महत्या गरेका हुन्। उनले तीन बर्षीय छोरी अनुष्कालाई पनि सल्पास खुवाएपछि उनको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार बैशाख १६ गते उनकी श्रीमती सरिता कलेल कोठामै झुण्डिएर आत्महत्या गरेपछि रामवहादुर विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्धा दर्ता गरिएको थियो।
सरिताका माईती पक्षले दुरुत्साहनमा मुद्धा दर्ता गरेका थिए। जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुरपक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको ईजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए। आईतवार छोरी सहित उनले आत्महत्या गरेका हुन्।
अपराध संहितामा लागु भएपछि कैलालीमा आत्महत्या दुरुत्साहन गरेका उजुरी पर्ने क्रम बढ्दै गएको छ। एक बर्षको अवधीमा कैलालीमा १४ वटा मुद्दा दर्ता भएका छन्। त्यस्मा एक जनालाई पुरपक्षका लागि कारागार चलान गरिएको छ भने आठ जना धरौटीमा रिहा, दुई वटा मुद्दामा अनुसन्धान जारी रहेको र एकजना साधारण तारेखमा छुटेका छन्।