एजेन्सी – लिग कप अन्तर्गत लन्डन क्लब आर्सनल र लिभरपुलबीच सेमिफाइनलको पहिलो लेगको खेल स्थगित भएको छ । कोभिड–१९ को प्रकोपका कारण बिहीबार रातिलाई तय भएको खेल स्थगित भएको इंग्लिस फुटबल लिग ९इएफएल० ले जनाएको छ ।
पछिल्लोपटक सहायक प्रशिक्षक पेप लिन्डर्सलाई कोरोना पुष्टि भएपछि लिभरपुलले खेल स्थगित गर्न आग्रह गरेको थियो । मुख्य प्रशिक्षक योर्गेन क्लोप र सहायक प्रशिक्षक नै कोभिडका कारण आइसोलेट हुनुपरेपछि लिभरपुलले बुधबारको प्रशिक्षण रद्द गरेको छ । अब पहिलो लेग १३ जनवरीमा एनफिल्डमा तथा दोस्रो लेग २० जनवरीमा इमिरेट्स स्टेडियममा हुनेछ ।
इएफएलले विज्ञप्ति जारी गर्दै क्लबसँग खेल सञ्चालनको विषयमा नियमित संवाद गरिरहेको र अघि बढ्न सक्ने अवस्था नै नरहेपछि खेल स्थागित गर्नुपरेको बताएको छ । यो अवधिमा क्लबमा कोभिड संक्रमण लगातार बढिरह्यो । यो परिस्थितिको समीक्षा गर्दै इएफएलले लिभरपुलको अनुरोधलाई स्वीकार गरेको हो ।
यसअघि बुधबार लिभरपुलले कोरोना भाइरस केसहरुको द्रुत गतिमा बढ्दो संख्याका कारण क्लबको प्रशिक्षण ४८ घन्टाको लागि स्थगित गरिसकेको छ । मुख्य प्रशिक्षक योर्गेन क्लोपलाई कोरोना भएपछि टचलाइन सहायक प्रशिक्षक पेप लिन्डर्सलले चेल्सीविरुद्धको प्रिमियर लिगको खेल सम्हालेका थिए । खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।
उक्त खेलमा पहिलो रोजाईका गोलरक्षक एलिसन बेकर, जोएल मटिप र रोबर्टो फिर्मिनोसँगै क्लबका अन्य तीन कर्मचारीलाई कोरोना पुष्टि भएको थियो । अफ्रिका कप अफ नेसन्सका लागि मोहम्मद सलाह, साडियो माने र नावी केइटाको प्रस्थानबाट लिभरपुललाई थप तनाव बढेको छ ।