काठमाडौँ, १७ पुस । पार्टीको आठौं महाधिवेशन भइरहेको स्थल काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा अहिले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।
बैठक आज बिहान ८:३० बजेदेखि बसिरहेको हो। आज नयाँ नेतृत्व चयनका लागि माओवादी केन्द्र गम्भीर छलफलमा जुटेको हो। जारी स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्ज पनि सहभागी रहेको प्रदेश १ का इ्रन्चार्ज राम कार्कीले जानकारी दिए। नयाँ केन्द्रीय सदस्यको नाम दिने जिम्मेवारी प्रदेश कमिटीलाई नै दिने सम्भावना छ।
अहिले बिहान ११ बजे बन्दसत्र सुरु हुँदै छ। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठान भवनमा यही पुस ११ देखि जारी माओवादी केन्द्रको महाधिवेशन लम्बिएको छ।शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित हुन बाँकी भएकाले महाधिवेशन लम्बिएको हो।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अहिले बिहान ११ बजेपछि बन्दसत्र प्रारम्भ हुनेछ। विधान मस्यौदामा उठेका जिज्ञासामा नेता देवप्रसाद गुरुङले जवाफ दिएपछि पारित गर्ने कार्यसूची छ।
विधान पारित भएपछि मात्रै माओवादी केन्द्रको नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ। सुरुमा सदस्य मात्र भनेर केन्द्रीय कमिटी चयन गर्ने र त्यसले पछि पदाधिकारी छनोट गर्ने माओवादी केन्द्रको तयारी छ।
माओवादी केन्द्रले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरेको छ। अध्यक्ष पदमा प्रचण्ड नै दोहोरिने सम्भावना छ। किनभने अहिलेसम्म यस पदमा कसैले दाबी गरेका छैनन्। अन्य पदाधिकारीमा भने थुप्रै नेता आंकाक्षी रहेको खबर सार्वजनिक भएको छ।
वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठको बलियो सम्भावना देखिएको छ। महासचिवमा धेरै नेताले दाबी गरेका छन्।विधान पारित भएपछि निर्वाचन प्रक्रिया अघि बढ्ने माओवादी केन्द्रको निर्वाचन आयोगले नजनाएको छ। माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा १७ सय प्रतिनिधि सहभागी छन्।