धनगढी,१५ पुस । डोटेली लोकसंस्कृतिमा एक आपसमा कथा र दन्त्य कथा सुन्ने र सुनाउने पर्वको रुपमा लिइने ‘पुसे १५’ पर्व आज सुदूरपश्चिम प्रदेशमा उल्लासपूर्वक मनाइँँदैछ ।
डोटेली संस्कृतिको मौलिक पहिचान बोकेको यो पर्व हरेक वर्ष पुस १५ गते मनाइने भएकाले पुसे १५ को रुपमा चर्चित रहेको छ । पुस १५ को रात वर्षभरिकै सबैभन्दा लामो रात भएको विश्वासमा यो पर्व मनाउने गरिन्छ । आजको लामो रातलाई डोटेली भाषामा ‘ठूली रात’ भनेर चिनिन्छ ।
१५ पुसको रातिको समयमा एक ठाउँमा भेला भएर गरिने आगो तापेर रातभर जाग्राम बस्ने, जाग्राम बसेका बेला विशेष गरी चामलको पिठोबाट बनेको ढुकढुके रोटी, तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूलका साथै पाकेको फर्सी उसिनेर खाने प्रचलन छ ।
टोलटोलमा समेत सामूहिक रूपमा पनि रोटी पकाउने तथा रातभर रोटी खाएर वृद्धवृद्धाबाट लोककथा, गाउँखाने कथा सुन्ने सुनाउने प्रचलन छ । पर्वमा विवाहिता छोरीलाई पनि घरमा आमन्त्रण गरिन्छ ।