धनगढी,८ पुस । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको प्रथम पञ्चवर्षिय योजना (आर्थिक बर्ष २०७८/०८९/ २०८२/०८३) को संक्षिप्त अबधारणा पास गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज विहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले सो अवधारणा पत्र स्वीकृत गरेको हो ।
आजको मन्त्रीपरिषद् बैठकले अछामको रामारोशन गाउँपालिका र बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गर्न सङ्घीय सरकारलाई सिफारिस गरिएको सरकारका प्रबक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् ।
मन्त्री जोशीका अनुसार रामारोशन गाउँपालिकामा अहिले सात वडा रहेको छ । सो गाउँपालिकामा वडा विभाजन गरी १२ बनाइने छ भने नौंवटा वडा रहेको बझाङको मष्टा गाउँपालिकामा वडा विभाजन गरी ११ बनाइने छ ।
यस्तै उधोग तथा फर्महरु नविकरण गर्ने समयावधि पुस मसान्तसम्म र ५ प्रतिशत बिलम्व शुल्कमा अन्य जरिवानाहरु मिनाहा गर्ने आर्थिक मामिला मन्त्रालयको प्रस्तावसमेत आजको बैठकले स्वीकृत गरेको छ ।
यस्तै आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगतको प्रदेश राजपत्र छपाईमा काम गर्ने ३ जना कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको मन्त्री जोशीले जानकारी दिइन् ।