काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन्। मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन्। सभापति चुन्नका लागि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवाले २७२४ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी कोइरालाले १८१७ मत प्राप्त गरे।
२०७२ मा भएको १३औं महाधिवेशनमा पनि उनले दोस्रो चरणको मतदानबाटै सभापति जितेका थिए।पहिलो चरणको निर्वाचनमा सभापति पदका उम्मेदवार कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि सबैभन्दा बढी मत ल्याउने देउवा र डा. कोइरालाबीच दोस्रो चरणको निर्वाचनका लागि प्रतिस्पर्धा भएको हो।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ।
