धनगढी, २९८ मंसिर । नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमको प्रदेश सम्मेलन लम्बिएको छ। शनिबार र आइतबार गरेर दुई दिनका लागि तोकिएको प्रदेश सम्मेलन अहिलेसम्म पनि नेतृत्व चयनमा सहमति हुन नसक्दा लम्बिएको हो।
प्रदेश अध्यक्ष चयनका लागि सहमतिको प्रयास भइरहेको छ। माओवादीको प्रदेश अध्यक्षका लागि सात जनाले दाबी गरेका छन्। माओवादीको वर्तमान प्रदेश अध्यक्ष एवं केन्द्रीय सदस्य शरदसिंह भण्डारी, प्रदेशका सहइन्चार्ज एवं केन्द्रीय सदस्यद्वय वीरमान चौधरी, नेपबहादुर चौधरी, केन्द्रीय सदस्य एवं बैतडी जिल्ला इन्चार्ज नरेन्द्र कुँवरले अध्यक्षमा दाबी गरेका छन्।
यस्तै, माओवादी सुदूरपश्चिम प्रदेश कमिटी सदस्यसमेत रहेका राष्ट्रिय सभा सदस्य हरि चौधरी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामी र प्रदेश कमिटी सदस्य हरि ज्ञवालीले पनि अध्यक्षमा दाबी गरेका छन्।
अहिलेका अध्यक्ष भण्डारी र राष्ट्रिय सभा सदस्य चौधरीमध्ये एकजना प्रदेश अध्यक्ष हुने सम्भावना रहेको एक नेताको दाबी छ। माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले सकेसम्म सहमतिमै जोड दिने र सहमति नभएको अवस्थामा लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गरिने बताएका छन्। सम्मेलनले नौजना पदाधिकारीसहित दुई सय २३ सदस्यीय प्रदेश कमिटी गठन गर्ने इन्चार्ज भट्टले जानकारी दिए।