बागलुङ, १७ मंसिर । बागलुङमा एकै विद्यालयका २५ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टी भएको छ । समुदायस्तरमा पनि तीन जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।
बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङका जनस्वास्थ्य निरीक्षक देव प्रकाश घिमिरेले जानकारी दिए। विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो । कार्यालयका अनुसार विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।
कोरोना संक्रमित बढेसंगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ । बाग्लुङमा बिहिबारसम्म जम्मा १३ जना संक्रिय संक्रमित रहेकोमा अहिले संक्रिय संक्रमितको संख्या ४१ पुगेको छ । धौलागिरी अस्पताल बाग्लुङको आइसोलेसनमा दुई संक्रमितको उपचार भइरहेको छ ।