कैलाली, २२ असोज / कैलालीको घोडाघोडी नगरपालिका –१ लोहरपुर गाउँकी निर्मला चौधरीका लागि हाटबजार आम्दानीको नयाँ अवसर बनेको छ ।
घर वरपर, पाखाबारी, पोखरी र तलाउमा खेर जाने सागपात संकलन गरेर सुखडमा लाग्ने हाटबजारमा बिक्री गर्न थालेपछि उहाँलाई घरखर्च चलाउन सहज भएको हो ।
सुखड बजारमा हप्ताको दुई दिन सञ्चालन हुने हाटबजारले निर्मलाजस्ता ग्रामीण महिलालाई घरमै सीमित उत्पादन र प्राकृतिक स्रोतबाट आम्दानी गर्ने अवसर दिएको छ । वर्षायाममा खेतबारीमा तरकारी उत्पादन गर्न कठिन हुने भए पनि पोखरी तथा तलाउमा आफैँ उम्रिने पानी साग संकलन गरेर बिक्री गर्न सकिने उनले बताए ।
लोहरपुरकै भगवती चौधरी पनि हाटबजारमा सालको पातबाट बनाइएका दुना टपरी बिक्री गर्दै आएकी छन्। ग्राहक नभएका बेला घरमै दुना टपरी बनाउने र हाटबजार लाग्ने दिन बिक्रीका लागि ल्याउने उनको दैनिकी बनेको छ ।
लोहरपुर गाउँकै १६ जना महिला हाटबजारमा विभिन्न सामग्री बिक्री गर्दैआएका छन् । उनीहरूले घरायसी उत्पादन, जंगलमा पाइने सागपात, निगुरो, च्याउ तथा सालका पातबाट बनेका दुना टपरी बिक्री गरेर आम्दानी गर्दै आएका छन्। उनीहरू तीन वर्षदेखि हाटबजारमार्फत आफ्नो उत्पादन बिक्री गरिरहेका छन् ।
यसरी हाटबजार ग्रामीण महिलाका लागि केवल सामान बेच्ने स्थान नभइ स्थानीय स्रोत साधनलाई आम्दानीमा बदल्ने र स्वरोजगार बन्ने माध्यम बन्दैगएको छ ।
हरेक शनिबार र मंगलबार लाग्ने हाटबजारले स्थानीय उत्पादनलाई बजारसँग जोड्नुका साथै ग्रामीण युवा तथा महिलाको आयआर्जनमा समेत सहयोग गरेको छ । व्यवस्थित पूर्वाधारको अभाव रहे पनि खुला आकाशमुनि उनीहरुले आफ्नो उत्पादन बिक्री गर्दै आम्दानीको बाटो बनाइरहेका छन्।